
जिल्ला प्रशासन कार्यालय धनुषाले निषेधाज्ञाको समयावधि सोमवार थप गरेको छ ।
प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले जिल्लाभर जेठ ३१ गते राति १२ बजेसम्मका लागि पाँचौं पटक निषेधाज्ञा थपिएको जानकारी दिए ।
यसअघि जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले जेठ २४ गते अर्थात् सोमवार राति १२ बजेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको थियो ।
सरकारले हालै जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञालाई थप कडाइ गर्ने जनाएको छ ।
निषेधाज्ञा उल्लंघन गर्ने र अवरोध गर्नेलाई अध्यादेशमा भएको व्यवस्था अनुसार कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइसकिएको प्रजिअ बास्तोलाले बताए ।
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार जिल्लाभित्र कोभिड–१९ को नयाँ भेरियन्टको संक्रमण दरमा क्रमशः सामान्य सुधार देखिए तापनि संक्रमणको जोखिम अझै कायम रहेकाले त्यसको रोकथामका लागि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका बाहेक अन्य सबै सेवा बन्द रहने बताइएको छ ।