
हावाहुरी सहितको पानीका कारण पोखरा र आसपासका क्षेत्रका मकैबालीमा क्षति पुगेको छ ।
सोमवार दिउँसो ४.३० बजेको समयमा एकाएक आएको ठूलो हावाहुरी सहितको पानीका कारण पोखरा महानगरपालिका–३२ गगनगौंडा, बेलबुटे, मालमुल, राजाको चौतारा, वडा नम्बर ३३ को बागमारा, लामगादी, पुडीटार लगायतका स्थानका मकै बालीमा क्षति पुगेको स्थानीयवासी भक्तिराम सुवेदीले जानकारी दिए ।
आइतवार पनि हावाहुरीका साथ पानी आउँदा मकै भाँचेकामा सोमवारको पानीले थप क्षति पुर्याएको उनले बताए । मकै लगाउने बेलामा खडेरी परेर समस्यामा परेका कृषकहरू पछिल्ला केही दिनयता दिउँसो ४.०० बजेपछि हावाहुरी सहितको पानी आउन थालेपछि लगाएको बाली पनि जोगाएर खान मुस्किल भएको बताउँछन् ।
हावाहुरीले भर्खरै लहरिँदै गरेका लहरे तरकारी बालीमा पनि क्षति पुर्याएको कृषकहरूको गुनासो छ ।