
जापानमा क्रियाशील ३ नेपाली संस्था मिलेर धवलागिरि अस्पतालसहित गलकोट नगरपालिका र ताराखोला गाउँपालिकालाई अत्यावश्यक स्वास्थ्य सामग्री पठाएका छन् ।
गलकोट समाज जापान क्षेत्रीय समिति टोकियो, घुम्टे युवा परिवार जापान शाखा र जापानस्थित हार्मोनी प्रि–स्कूल इन्टरनेसनलको संयुक्त सहकार्यमा संकलित ती सामग्री आइतवार अस्पताल र पालिकाका स्वास्थ्य शाखालाई हस्तान्तरण गरिएको छ ।
गलकोट समाज बागलुङका अध्यक्ष राज थापाले अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगर र ताराखोला गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक उदित थापा मगरलाई सामग्री प्रदान गरेका थिए ।
सीमित स्रोतसाधनका बाबजुत कोरोनाविरुद्ध संघर्षरत अस्पताल र स्वास्थ्य संस्थालाई उपचार एवं व्यवस्थापनमा सघाउ पुर्याउने उद्देश्यले ती संस्थाले जापानमा आर्थिक सहयोग अभियान चलाएका थिए ।
त्यसरी संकलित रकमबाट स्वास्थ्य सामग्री/उपकरण खरिद गरी पठाइएको गलकोट समाज जापान क्षेत्रीय समिति टोकियोका अध्यक्ष रमेशकुमार खत्रीले बताए । पीसीआर टेस्ट किट, एन्टिजेन टेस्ट किट, सर्जिकल मास्क, मेडिकल मास्क, पल्स अक्सिमिटर, थर्मोमिटर, फेस सिल्ड लगायतका सामग्री सहयोग गरिएको उनको भनाइ छ ।
अस्पताल र २ पालिकाका स्वास्थ्य शाखामा गरी कूल ७ लाख ३७ हजार रुपैयाँ बराबरको सामग्री पुगेको घुम्टे युवा परिवार जापान शाखाका अध्यक्ष दिलबहादुर थापा ‘रामु’ले बताए । निषेधाज्ञाका कारण नियमित हवाई उडान समेत बन्द रहेको अवस्थामा कार्गो गरेर सामग्री पठाइएको उनको भनाइ छ ।
शाखाका सचिव दिनेश थापाका अनुसार आर्थिक सहयोग अभियानमा २९ जना स्वतःस्फूर्त रूपमा जोडिएका थिए ।