
पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले एकताको नाममा भ्रम सिर्जना गर्न खोजेको आरोप लगाएका छन् । आफू पक्षीय स्थायी समिति बैठकपछि ओलीले आइतबार अघि सारेको ६ बुँदे प्रस्तावको जवाफ ओलीले एकताको नाममा भ्रम सिर्जना गर्न खोजेको ठहर गरेका हुन् ।
उनले साँच्चै पार्टी मिलाउने हो भने आफूहरुले वैशाख ७ र २६ गते मा दुई–दुई पटक लिखितरुपमा ओलीलाई पठाएको प्रस्ताव कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।
यी हुन् नेपाल समूहको प्रस्तावः
हाम्रो तर्फबाट मिति २०७८ वैशाख ७ र २६ गते मा दुई–दुई पटक लिखितरुपमा नेकपा (एमाले) को एकता र प्रभावकारितालाई कायम राख्न केपी ओलीलाई ठोस प्रस्ताव पठाइएको थियो । त्यसमा हामीले स्पष्टरुपमा ––
क. पार्टी र सम्बद्ध सबै जनसंगठनहरुको संगठनात्मक संरचना तथा जिम्मेवारी २०७५ साल जेठ २ गते अगाडिको स्थितिमा कायम गरी सञ्चालन गर्ने,
ख. नवौं राष्ट्रिय महाधिवेशनको निर्णय तथा पार्टी विधान विपरीत २०७७ साल फागुन २३ गते पछि (फागुन २८ गतेको निर्णय समेत) का सबै निर्णयहरु खारेज गर्ने,
ग. यस विषयमा सहमति भएकै दिन पार्टी स्थायी कमिटीको बैठक बोलाई उक्त सहमतिको अनुमोदन गर्ने,
घ. सोही बैठकबाट एउटा कार्यदल गठन गरी त्यसले राष्ट्रिय महाधिवेशन, विभिन्न तहका अधिवेशन र पार्टी सदस्यता लगायतका संगठनात्मक विषयहरुका बारेमा सात दिनभित्र सिफारिश प्रतिवेदन दिनेगरी निर्णय गर्नुपर्ने उल्लेख गरेका थियौं,
ङ. त्यसैगरी केन्द्रदेखि स्थानीय तहसम्म स्पष्टीकरण, निलम्बन र सदस्यता खारेजी लगायतका सबै कावाईहरु बदर गर्ने,
च. पार्टीलाई विधिसम्मत रुपमा सञ्चालन गर्ने,
छ. पार्टीमा सहज स्थिति भएपछि विगतमा भए गरेका कामकुराहरुको उपयुक्त समयमा समीक्षा गर्ने सहमति हुनुपर्ने स्पष्ट गरेका थियौं ।
ज. प्रधानमन्त्री केपी ओलीबाट प्रतिनिधि सभा विघटन गर्ने लगायतका संविधान सम्मत नरहेका निर्णयहरु फिर्ता गरिनुपर्ने,