मंगलवार काठमाडौं महानगरपालिका क्षेत्रमा ६४ वर्ष उमेरका व्यक्तिलाई कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो मात्रा दिइँदैछ ।
यसअघि पहिलो मात्रा पनि छुटेका ६०–६४ बर्ष उमेर समूहका व्यक्तिलाई यस पटक दिन लागिएको हो ।
खोप कार्यक्रममा भीड कम गराउन एउटा उमेर समूहका व्यक्तिलाई १ दिन खोप दिने कार्यक्रम तय गरिएको हो ।
शहरी स्वास्थ्य विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै जेठ २६ गते ६३ वर्षका लागि, जेठ २७ गते ६२ वर्षका लागि, जेठ २८ गते ६१ वर्षका लागि र जेठ २९ गते ६० वर्ष उमेरका व्यक्तिलाई खोप लगाउन नजिकको केन्द्रमा जान आग्रह गरेको छ ।



यसअघि कोभिड संक्रमण भइसकेको भए १ महिना पूरा भए मात्र खोप लगाउन, तोकेका दिनमा मात्र खोप लगाउन र पहिलो मात्राका लागि मात्र खोप केन्द्रमा जान सूचनामा भनिएको छ ।
खोप लगाउन जाँदा उमेर खुलेको फोटो भएको सरकारी कागज लिएर जानुपर्नेछ । यदि यसप्रकारको कागज नभए वडासँग सम्पर्क गरेर सिफारिस लिएर जानुपर्नेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ १८ गतेको निर्णयका आधार यो उमेर समूहका व्यक्तिका लागि भेरोसेल (चाइनिज खोप) को पहिलो मात्रा दिन लागिएको छ ।
सरकारले कोभिड विरुद्धको खोप कार्यक्रमअन्तर्गत पहिलो पटक महामारी नियन्त्रणका लागि अग्रपंक्तिमा खटिने पेशाकर्मी, दीर्घ रोगी आदिलाई प्राथमिकताका आधारमा समूह विभाजन गरेर खोप दिँदै आएको छ । यसक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सुरक्षाकर्मी, पत्रकार, शिक्षक, प्राध्यापक, सार्वजनिक सवारी चालक र सहचालकसहित ६५ वर्षदेखि माथिल्लो उमेर समूह र १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका नागरिकलाई खोप दिएको थियो ।
यसरी दिइने खोप २ प्रकारका छन् । एउटा भारतको सिरम इन्टिच्युट अफ इन्डियाले उत्पादन गरेको कोभिसिल्ड हो भने अर्को चिनियाँ खोप भेरोसेल हो ।
खोप कार्यक्रमअन्तर्गत फागुन २३ गतेदेखि चैत १० गतेभित्र कोभिशिल्डको पहिलो मात्रा लगाएका व्यक्तिले त्यसको दोस्रो मात्रा लगाउन पाएका छैनन् ।
कोभिशिल्ड प्राप्तिका लागि भारतको सिरम इन्टिच्युटसँग सम्झौता गरेर अग्रिम भुक्तानी भएपछि इन्टिच्युटले खोप दिन नसक्ने पत्र पठाएको छ ।