अमेरिकाको सर्वोच्च अदालतले सोमवार चार लाख आप्रवासीलाई ग्रीन कार्ड दिन नमिल्ने बताएको छ ।
टेम्पोररी प्रोटेक्टेड स्टेटस पाएका तर अमेरिकामा अवैध रूपमा आएका व्यक्ति ग्रीन कार्डका लागि योग्य नहुने उदारवादी एलाना कागानले बताइन् । टेम्पोररी प्रोटेक्टेड स्टेटस पाउनेबित्तिकै अमेरिकामा सधैं बस्ने टिकट नभएको उनले बताइन् ।
मानवीय आधारमा अमेरिकामा बस्न अनुमति पाएका तर अवैध रूपमा प्रवेश गरेका आप्रवासीलाई ग्रीन कार्ड नदिने विषयमा सर्वोच्च अदालतमा सबै न्यायाधीशको एउटै राय रह्यो ।
नेपालबाट पनि भूकम्पपछि टेम्पोररी प्रोटेक्टेड स्टेटसको दाबी गर्दै अवैध रूपमा अमेरिकामा बस्ने धेरै मानिस छन् ।
ट्रम्प प्रशासन आप्रवासीहरूप्रति अत्यन्तै अनुदार रहेकोमा बाइडन प्रशासनले त्यस नीतिलाई उल्ट्याउन खोजेको भए पनि सर्र्वोच्च अदालतले कस्ता मानिसलाई ग्रीन कार्ड दिने भन्ने क्राइटेरिया तोकिदिएको छ ।
एल साल्भाडोरको एक विवाहित जोडीले गरेको दिएको पुनरावेदनमा सुनुवाइ गर्दै न्यायाधीशहरूले तल्लो अदालतको फैसलालाई सदर गरेका हुन् । त्यो जोडी अवैध रूपमा अमेरिका आएर टेम्पोररी प्रोटेक्टेड स्टेटस लिएर बसिरहेको थियो ।
वर्षौंदेखि अमेरिकामा बसिरहेका चार लाख आप्रवासीलाई यसले असर पार्नेछ ।
अवैध रूपमा अमेरिका छिर्नेहरूप्रति बाइडन पनि कठोर बन्न खोज्दैछन् र आप्रवासी अधिकारवादीहरू तथा डेमोक्रेट पार्टीका नेताहरूसँग उनको विमति छ ।