काठमाडौँ, १३ पुस-प्रधानमन्त्री पुष्पकमल दाहालसित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या तथा सिमाना निर्धारण आयोगका अध्यक्ष बालानन्द पौडेलसहित आयोगका पदाधिकारीले भेट गर्नुभयो ।
प्रम निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले आयोगले तयार गरेको प्रतिवेदन समय मिलाएर सरकारले ग्रहण गर्ने जानकारी दिनुभएको आयोगका अध्यक्ष पौडेलले राससलाई दिनुभएको जानकारी दिनुभयो ।
नेपालको संविधानको धारा २९५ अनुसार तत्कालीन प्रम केपी शर्मा ओली सरकारका समयमा सो आयोग गठन भएको थियो । सो आयोगले गाउँपालिका, नगरपालिकाका सङ्ख्या तथा सिमाना निर्धारण गरी आफ्नो प्रतिवेदन तयार गरेको छ ।
प्रधानमन्त्री दाहालले सो अवसरमा स्थानीय निकायको निर्वाचनको तयारीमा सरकार जुटेको बताउनुभएको थियो । आयोगले तयार पारेका प्रतिवेदनका बारेमा प्रधानमन्त्री दाहाललाई जानकारी दिएको अध्यक्ष पौडेलले जानकारी दिनुभयो ।
सो अवसरमा सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डे पनि सहभागिता रहेको थियो । रासस