
प्रतिनिधि सभा विघटनको मुद्दामा रिट निवेदकका तर्फबाट २ जना वरिष्ठ अधिवक्ताले बहस गरेपछि न्यायाधीशहरू आन्तरिक छलफलमा जुटेका छन् ।
नियमित चिया ब्रेकको समयलाई लम्ब्याएर न्यायाधीशहरू एक घण्टादेखि छलफलमा जुटेका हुन् ।
रिट निवेदकले अन्तरिम आदेश पनि माग गरेकाले त्यस विषयमा न्यायाधीशहरूबीच छलफल भइरहेको हो ।
अन्तरिम आदेश दिने कि नदिने भन्नेबारे आजै कुनै आदेश आउने सम्भावना पनि छ ।
बहसका क्रममा न्यायाधीश ईश्वर खतिवडाले वरिष्ठ अधिवक्ता शम्भु थापालाई अन्तरिम आदेश दिनुपर्ने कारण के हो भनी सोधेका थिए ।
जवाफमा थापाले शेरबहादुर देउवाले बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेको उल्लेख गर्दै यही संसदबाट नयाँ सरकार बन्न सम्भव रहेको बताए ।
राष्ट्रपतिले सरकार बन्छ कि बन्दैन भन्नुभन्दा पनि त्यसको जवाफ संसद्मा नै गएर खोज्नुपर्ने उनको तर्क थियो ।
न्यायाधीशहरूले छलफल गरेपछि ३ बजेदेखि इजलास सुचारु हुनेछ ।