
पोखराका अग्रज पत्रकार यज्ञप्रसाद बास्तोलाको निधन भएको छ ।
उनको ७० वर्षको उमेरमा बुधवार राति करीब ३ बजे पोखराको चरक मेमोरियल अस्पतालमा उपचार क्रममा निधन भएको हो । उनमा कोरोना भाइरस संक्रमण देखिएको थियो ।
उनले गगन दैनिक, माइक्रो न्यूज दैनिक, आदर्श समाज दैनिकमा सम्पादक भई लामो समय काम गरेका थिए ।
नेपाल पत्रकार महासंघ कास्की शाखाका साधारण सदस्य एवं स्वतन्त्र पत्रकार संघ नेपालका संस्थापक सदस्य उनी पोखरा महानगरपालिका–५ मालेपाटनमा बस्दै आएका थिए ।
बास्तोलाको निधनप्रति नेपाल पत्रकार महासंघ कास्की शाखाले शोक विज्ञप्ति जारी गरी दुःख व्यक्त गरेको छ । महासंघ शाखा अध्यक्ष विमला भण्डारीले बिहीवार विज्ञप्ति जारी गरी दिवंगत आत्माको चिरशान्तिको कामनासहित शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना व्यक्त गरेकी छन् ।