०८ असार २०८३, सोमबार

सेवा निवृत्त कर्मचारीलाई पेन्सन लिन सकस

जेठ २७, २०७८
सेवा निवृत्त कर्मचारीलाई पेन्सन लिन सकस

कोरोना संक्रमणका कारण जारी निषेधाज्ञामा सेवाग्राहीको भीड हुँदा सेवा निवृत्त कर्मचारीलाई पेन्सन लिन सकस भएको छ ।

लमजुङको बेंसीशहरको राष्ट्रिय बाणिज्य बैंक शाखामा एकैचोटी ठूलो भीडभाडमा कोरोना संक्रमणको जोखिम मोलेर पेन्सन लिनुपर्ने बाध्यता भएको छ । 

सेवा निवृत्त शिक्षक लेखनाथ शर्माले भीडभाडले जोखिम उच्च रहेकाले डराई–डराई पेन्सन लिन बस्नु परिरहेको र जागिर खानुभन्दा पनि पेन्सन लिन बढी सकस भएको धारणा राखे ।

पूर्व प्रहरी हवल्दार शन्तबहादुर गुरुङ भन्छन्, ‘कोरोना संक्रमणका बेला कम भीडभाड हुन्छ होला भनेर पेन्सन लिन आएको, यहाँ त ठूलो भीडभाड पो रैछ ।’

कमल लोहनी, रामबहादुर रावल लगायतले सरकारले व्यवस्थित रूपमा पेन्सन वितरणको व्यवस्था गरेको भए यस्तो समस्या भोग्नु नपर्ने धारणा राखे ।

राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रमुख सोमनाथ पौडेलले पहिला २ वटा काउन्टर मात्र सञ्चालन गर्दै आए पनि अहिले ६ वटा काउन्टरबाट पेन्सन लिन आएकालाई सेवा प्रवाह गरिरहेको र यस्तो भीड आगामी आइतवारसम्म पनि हुनसक्ने बताए ।

शाखाबाट पेन्सन लिने २ हजार २०० जना रहेका राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ । बंैकका अनुसार निषेधाज्ञाका कारण हप्तामा आइतवार र बिहीवार मात्र बैंक खुल्दा कर्मचारीलाई १ हप्ताको काम १ दिनमै गर्नुपर्ने बाध्यता भइरहेको छ । शाखाको भीड बैंकले व्यवस्थापन गर्न नसकेपछि प्रहरी समेत परिचालन गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले पेन्सन लिन आएको तथा अन्य सेवाग्राहीका लागि सामाजिक दूरी कायम गर्न बैंकहरूलाई निर्देशन दिएको बताए । तर सेवाग्राहीको भीडभाड अलिअलि भने स्वभाविक हुने तर्क उनको छ ।

salt training

कमेन्ट गर्नुहोस्