
काठमाडौँ महानगरपालिकाले संचालन गरेको खोप कार्यक्रम स्थगित हुने भएको छ । गएको मंगलबार देखि महानगरको ३२ वटै वडामा संचालन हुँदै आएको खोप कार्यक्रम सरकारले खोप उपलब्ध नगराउने भएपछि स्थगित हुनपुगेको हो ।
काठमाडौँ महानगर शहरी जनस्वास्थ्य प्रमुख हरि कुँवरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको खोप महाशाखाले काठमाडौँ महानगरलाई थप खोप उपलब्ध गराउन नसक्ने भने पछि जारी कार्यक्रम बाध्य भएर रोक्नु परेको बताए । नेपाल सरकारलाई गएको हप्ता मित्रराष्ट्र चीनले १० लाख डोज खोप सहयोग स्वरूप उपलब्ध गराएको थियो । यसरि प्राप्त भएको खोपलाई सरकारले देशै भरि ६० वर्ष भन्दा माथि ६५ वर्ष सम्म उमेर समुहका व्यक्तिलाई लगाउने कार्यक्रम बनाएको थियो ।
सरकारले ६५ हजार डोज खोप उपलब्ध गराउँछु भने पछि खोप लगाउने कार्यक्रम सुरु गरेका थियौं अहिले २८ हजारलाई लगाइसके पछि रोक्नु परेको जनस्वास्थ्य प्रमुख कुँवरले बताए । अब बाँकीलाई कसरी खोप लगाउने कुनै निश्चित नभएको शहरी जनस्वास्थ्य प्रमुख कुँवरले बताए । कार्यक्रम अनुसार काठमाडौँ महानगरले गएको मंगलबार देखि पाँच दिनसम्म उमेर समूह अनुसार दिन तोकि खोप कार्यक्रमको तालिका नै सार्वजनिक गरेको थियो । महानगरले आज सम्म करिब २८ हजार जनालाई खोप लगाएको बताएको छ ।