सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–८ पत्तालेमा क्रेन बोकेर गुडिरहेको लोवेटमा करेन्ट लाग्दा २ जनाको घटनास्थलमै ज्यान गएको छ ।
पोखरातर्फ जाँदै गरेको ग१क ५१७३ नम्बरको लोवेटमा राखिएको क्रेनले ३३ केभी प्रसारण लाइनमा छुँदा करेन्ट लागेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए ।
उनका अनुसार लोवेट चालक बाग्लुङको बडीगंगा गाउँपालिका–५ स्थायी ठेगाना भएका २६ वर्षीय भूमिराज मरासिनी र क्रेन चालक स्याङ्जाका करीब २४ वर्षीय रामबहादुर परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
शुक्रवार बिहान ८ः४० बजे सोलु खोलामा निर्माणाधीन ८६ मेगावाट हाइड्रोपावरको क्रेन मर्मतका लागि पोखरा लैजाँदै गर्दा सडकमाथि रहेको प्रसारण लाइनमा छुँदा घटना भएको प्रनाउ कटवालले घटनास्थलबाट जानकारी दिए ।
सहचालक मालिका गाउँपालिका गुल्मीका १८ वर्षीय वसन्त पौडेल र स्याङ्जाका अन्दाजी २४ वर्षीय लीला परियार सामान्य घाइते भएको बताइएको छ । उनीहरूलाई उपचारका लागि जिल्ला अस्पताल फाप्लु पठाई अवरुद्ध सडक खुलाउने काम भइरहेको ट्राफिक प्रहरी नारायणबहादुर बस्नेतले जानकारी दिए ।
सिद्धिचरण लोकमार्गमा पर्ने उक्त सडक क्षेत्रमा नेपाल विद्युत् प्राधिकरणको ३३ केभी प्रसारण लाइन छ ।