तनहुँको भानु नगरपालिका–११ रुपाकोटमा लक्षित समूहले कोभिड विरुद्धको खोप नपाएको गुनासो आएको छ ।
६२ देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई सञ्चालन गरिएको भेरोसेल खोप लक्षित समूहले नपाएको स्थानीयले गुनासो गरेका हुन् ।
स्थानीय रमेश अधिकारीले आफ्ना बुवालाई खोप लगाउन जाँदा स्वास्थ्यकर्मीले खोप सकियो भनेर फिर्ता पठाएको बताए । ‘बुवा ६४ वर्षको हुनुभयो, खोप लगाउन जाँदा त खोप छैन भनेर फिर्ता पठाए,’ उनले भने, ‘लक्षित समूहकै नागरिकले खोप लगाउन नपाउने ?’
उनले रुपाकोट स्वास्थ्यचौकी इन्चार्जले आफ्ना चिनेजानेका व्यक्तिलाई खोप लगाइदिएको आरोप लगाए ।
स्वास्थ्यचौकी इन्चार्ज शिवप्रसाद ढुंगानाले स्वास्थ्य चौकीबाट ६४ जनालाई खोप लगाइएको जानकारी दिए । खोप लगाउन १२ बजेसम्म कुर्दा कोही पनि नआएपछि खोप बिग्रन सक्ने भएकाले वडाध्यक्षलाई सम्पर्क गरेर वडाध्यक्षको निर्देशनबमोजिम ६० वर्षभन्दा माथि उमेर समूहका व्यक्तिलाई खोप लगाइएको उनले जानकारी दिए ।
‘६४ वर्षभन्दा कम उमेर समूहका नागरिकलाई अहिले लगाउन मिल्दैन भनेर फिर्ता पनि पठाएका हौं, आएको भ्याक्सिन फिर्ता नगर्ने भनेर वडाध्यक्षले भन्नुभयो,’ उनले भने, ‘स्थानीय सरकारका वडा प्रमुखले भनिसकेपछि खोप बिग्रन दिन मन लागेन ।’