
नेकपा एमालेले बागमती प्रदेश सभाका नेपाली कांग्रेसका सांसद नरोत्तम वैद्यले प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीको घोर भत्र्सना गरेको छ ।
शनिवार पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको हत्याका लागि अरूलाई दुरुत्साहन गर्ने र आवश्यक परे आफैं अगाडि सर्ने भन्दै दिएको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय भएको समेत जनाएका छन् ।
विज्ञप्तिमा भनिएको छ,'बागमती प्रदेशसभाको हिजोको बैठकमा एकजना सदस्यले सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीको हत्या गर्न दिएको धम्कीलाई नेकपा (एमाले) ले अत्यन्त गम्भीर रुपमा लिएको छ । प्रधानमन्त्रीको हत्याका लागि अरुलाई समेत दुरुत्साहन गर्ने र आवश्यक परे आफैँ पनि हत्याका लागि तयार रहेको निजको अभिव्यक्ति आपराधिक, अत्यन्त आपत्तिजनक र निन्दनीय छ ।'
सो अभिव्यक्तिमा फौजदारी कानून समेत आकर्षित हुने एमालेले जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, 'उक्त अभिव्यक्तिको घोर भत्र्सना गर्दै हाम्रो पार्टी यो विषय मुलुकको फौजदारी कानुन समेत आकर्षित हुने विषय हो भन्ने ठान्दछ र यस विषयमा सम्बद्ध राजनीतिक दलको समेत गम्भीर ध्यानाकर्षण गर्दछ ।'
बाग्मती प्रदेश सभा सदस्य वैद्यले शुक्रवार प्रदेश सभा बैठकमा यस्तो अभिव्यक्ति दिएका थिए ।
उनको अभिव्यक्तिप्रति धेरैले विरोध जनाउँदै आएका छन् ।
यता संविधानमा भने प्रदेश सभामा पूर्ण वाक् स्वतन्त्रता रहने व्यवस्था रहेको छ ।
नेपालको संविधानको धारा १८७(१) मा लेखिएको छ - ‘यस संविधानको अधीनमा रही प्रदेश सभामा पूर्ण वाक् स्वतन्त्रता रहनेछ र प्रदेश सभामा व्यक्त गरेको कुनै कुरा वा दिएको कुनै मतलाई लिएर कुनै पनि सदस्यलाई पक्राउ गर्ने, थुनामा राख्ने वा निज उपर कुनै अदालतमा कारबाही चलाइने छैन ।’
