२८ असार २०८३, आइतबार

भारत र चीनबीच गलवानमा भिडन्तको एक वर्ष पूरा, सीमामा तनाव कायम

असार १, २०७८
भारत र चीनबीच गलवानमा भिडन्तको एक वर्ष पूरा, सीमामा तनाव कायम

भारत र चीनबीच लद्दाखको गलवानमा भएको हिंस्रक भिडन्तको एक वर्ष पूरा भएको छ । 

रातमा भएको उक्त भिडन्तमा परी भारतका २० सैनिकको ज्यान गएको थियो भने चीनका चारजना सैनिक हताहत भएका थिए । 

चिनियाँ सेना भारतले नियन्त्रण गरेको भूमिमा आएको र उनीहरूलाई त्यहाँबाट हटाउन जाँदा भिडन्त भएको बताइएको छ । 

यस भिडन्तपछि भारत र चीनबीचको सम्बन्ध बिग्रिएको छ । भारतले कतिपय चिनियाँ यापहरूमा प्रतिबन्ध लगाएको छ । 

धेरै चरणको वार्तापछि दुवै पक्षका सैनिकहरू पछि हट्न सहमत भएका थिए । तर चीनले अझै पनि सीमामा आक्रामक गतिविधि गरिरहेको भारतको आरोप छ । 

भारतीय सेनाका रिटायर्ड लेफ्टिनेन्ट जनरल डीएस हुड्डाले भने, ‘वास्तविक नियन्त्रण रेखामा लाखौं सैनिक तैनाथ गर्ने कुरा व्यावहारिक हुँदैन । अब गर्मी महिना लागेको छ । सैनिक गतिविधि र दुवैतर्फ गश्तीका काम भइरहनेछन् । संरचना निर्माणको काम पनि दुवै पक्षले गर्नेछन् । सीमामा निर्धारित प्रोटोकलको व्यवस्था अन्त्य भएको छ । दुवै पक्षमा सन्देहको अवस्था छ । वास्तविक नियन्त्रण रेखामा हालत पहिलेको भन्दा तनावग्रस्त हुने मेरो आशंका छ ।’

भूराजनीतिक मामिलका विशेषज्ञ सिम टेक भन्छन्, ‘अहिले पनि ती क्षेत्रमा चिनियाँ सैनिकहरू ठूलो संख्यामा छन् । सन् २०२० को मे महिनाअघि उनीहरू त्यहाँ थिएनन् । चीनले त्यहाँ के गर्ने योजना बनाइरहेको हो ? भारततर्फ एकदमै सीमित रूपमा र सुस्त गतिमा विकासका गतिविधिहरू भइरहेका छन् ।’

यही घटनापछि भारतले पश्चिमी मुलुकहरूसँगको सम्बन्ध थप विस्तार गरेको छ । अमेरिकासँग अनि क्वाडका अन्य सदस्य मुलुकहरूसँग भारतको निकटता बढेको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्