
सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷ ०७९ को लागि ल्याएको नीति कार्यक्रम कार्यान्वयनका लागि रु ३० अर्ब ३३ करोड ९४ लाख ५५ हजारको बजेट विनियोजन गरेको छ ।
प्रदेश सभाको आजको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आर्थिक वर्ष २०७८÷०७९को बजेट प्रस्तुत गर्नु हुँदै कुल विनियोजित मध्ये चालू तर्फ रु दश अर्ब ६६ करोड नौ लाख तीन हजार र पूँजीगत तर्फ रु १७ अर्ब ६५करोड ४० लाख ५२ हजार रहेको जानकारी दिनु भयो । यसै गरी विनियोजन मध्ये अन्तर सरकारी वित्त हस्तान्तरण अन्तर्गत रु एक अर्ब ७२ करोड ४५ लाख,वित्तीय व्यवस्था तर्फ रु ३० करोड विनियोजनको व्यवस्था मिलाइएको छ ।
प्रदेश सरकारको चालू आर्थिक वर्ष २०७७÷०७८का लागि रु ३३अर्ब ३८ करोड १३ लाख ४८ हजारको बजेट विनियोजन गरेको थियो ।
आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये आन्तरिक राजश्व परिचालनवाट रु एक अर्ब आठ करोड तीन लाख २२ हजार,नेपाल सरकारवाट राजश्व बाँडफाँड भई प्राप्त हुने अनुमानित रकम रु सात अर्ब ९२ करोड ९१ लाख, सङ्घीय रोयल्टी बाँडफाँट भई प्राप्त हुने रु तीन करोड ९४लाख ६३ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
यस्तै नेपाल सरकारवाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु आठ अर्ब ५४ करोड ४० लाख र चालू आर्थिक वर्षको विनियोजनवाट बचत हुने अनुमानित रकम समेतबाट प्राप्त हुने रु छ अर्ब ६८ करोड ३० लाख ६१ हजार, सशर्त अनुदानवाट प्राप्त हुने रु चार अर्ब १९करोड ३३लाख, सङ्घीय सरकारवाट समपुरक अनुदानवाट प्राप्त हुने अनुमान गरिएको रु एक अर्ब २२ करोड ९४लाख, विषेश अनुदानवाट प्राप्त हुने अनुमान गरिएको रु ६१ करोड ३५ लाख र विकास साझेदारहरुवाट बजेट प्रणाली मार्फत् परिचालन हुने सहयता रकम रु दुई करोड ४६ लाख १० हजार समेत कूल स्रोत प्राप्त हुने अनुमान गरिएको मन्त्री शाहले जानकारी दिए ।