काठमाडौँ, २२ जेठ- राष्ट्रिय प्रजातन्त्र पार्टीले विवादबीच देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । आइतबार बसेको कार्यसम्पादन समिति र संसदीय दलको बैठकमा बहुमत नेताहरूले दबाब दिएपछि अध्यक्ष कमल थापाले समर्थनको निर्णय लिएका हुन् । थापा उपप्रधानमन्त्री नपाउने अवस्थामा सरकारमा जान नहुने पक्षमा थिए । तर, वरिष्ठ नेता पशुपतिशमशेर राणासहित उनीपक्षीय नेताहरूले स्थानीय निर्वाचनको मुखमा मन्त्रालय लिएर भए पनि सरकारमा जानुपर्ने बताएका थिए, आजको नयाँ पत्रिकामा खबर छ ।

संयुक्त बैठकमा अधिकांश पदाधिकारी अध्यक्ष थापाको धारणाविपरीत थिए । उपाध्यक्षत्रय दीपक बोहोरा, बुद्धिमान तामाङ र विक्रम पाण्डे, महामन्त्रीहरू सुनील थापा, जयन्त चन्दलगायत पार्टी एकीकरणअघिका राप्रपा नेताहरूले उपप्रधानमन्त्री नपाए पनि सरकारमा जानुपर्ने धारणा राखेका थिए । तर, थापाले निर्णय गर्न अलमल गरेपछि नेता पशुपतिशमशेर राणाले बहुमतको निर्णय नमाने पार्टीभित्र ‘डिजास्टर’ हुने चेतावनी दिएका थिए ।
संयुक्त बैठकमा आफ्नो धारणाविपरीत नेताहरू उभिएपछि अध्यक्ष थापाले संसदीय दलबाट निर्णय लिने भन्दै बैठक स्थगित गरेका थिए । त्यसपछि नेता दिनेश श्रेष्ठको घरमा थापाले आफूपक्षीय नेताहरूसँग छलफल गरेका थिए । सो छलफलमा पनि बहुमत नेताहरूले सरकारमा जानुपर्ने सुझाब दिएपछि थापाले दिउँसो संसदीय दलको बैठकबाट देउवालाई समर्थन गर्ने निर्णय गराएको स्रोतले बतायो । तर, बैठकमा थापाले भनेका थिए, ‘मैले विवेक प्रयोग गरेर निर्णय गरेको छु, बहुमत र अल्पमतमा परेर निर्णय गरेको होइन ।’