२१ जेठ २०८३, बिहीबार

तिनाउको बाढीले कटान, कतै डुबान

तिनाउको बाढीले कटान, कतै डुबान

अविरल वर्षासँगै तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगर–११ पवित्रनगरका ३ वटा घर कटान गरेको छ ।

भीषण वर्षासँगै आएको बाढीले डम्पिङ स्थल र पवित्रनगरको उत्तरी भागका ३ वटा घर कटान गर्दा नदीमा झुण्डिएका छन् भने अन्य ७७ वटा घरटहरा जोखिममा परेका छन् । 

तत्कालका लागि पानीको बहावलाई डाइभर्ट गर्नुुपर्ने अवस्था आएको वडाध्यक्ष रामचन्द्र क्षेत्रीले जानकारी दिए ।

‘पानी रोकिएपछि लन्चिङ राख्नुपर्ने देखियो । प्रगतिनगर र मजुवा क्षेत्रमा तारजालीबाट तटबन्ध गर्नुपर्ने देखिएको छ,’ अध्यक्ष क्षेत्रीले भने ।

अहिले पनि निरन्तर वर्षा भइरहँदा नदीमा पानीको बहाव घट्न सकेको छैन । 

वर्षाका कारण लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भरथापुर डुबानमा परेको छ । तिनाउ र दानव नदीको संगमस्थल दुईमोहानदेखि ३ किलोमिटर तल रहेको गाँउमा मंगलवार राति बाढी पसेको छ ।  

घरमा पानी पस्न लागेपछि सशस्त्र प्रहरी बल टोलीले डुबान क्षेत्रमा परेकालाई उद्दार गरेको छ । ईलाका प्रहरी कार्यालय लुम्बिनीको टोली पनि उद्धारमा छ । टोलीले २ दिने सुत्केरी महिलासहित ७ जनालाई उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याएको छ ।

डुबानमा परेकाहरूमध्ये केही छिमेकीको घरमा र केही टोलमा रहेको सामुदायिक बीउ भण्डार लगायतका स्थानमा सुरक्षित आश्रय लिएका छन् । 

दाङको लमही नगरपालिका–७ हस्नापुरका भैसी चराउन गएका बेला बाढीमा अलपत्र परेका परिवारलाई उद्धार गरिएको छ । हस्नापुर निवासी मन्साराम चौधरीसहित ४ जना बाढी आएपछि थुनिएका थिए ।

राति सबैको उद्धार गरेर सुरक्षित स्थानमा सारिएको ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्