
लगातारको वर्षा र त्यसपछिको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजारमा निकै ठूलो क्षति पुगेको छ ।
दर्जनौं घरहरू पुरिएका छन् भने अग्ला घरहरू पनि कम्तिमा एक तला पुरिएको अवस्था छ । केही मानिसहरू बेपत्ता छन् भने धनमालको निकै ठूलो नोक्सानी भएको छ ।
मेलम्ची नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष ठंकराज गिरीले आफू र अघिल्लो पुस्ताले पनि मेलम्चीमा यति ठूलो बाढी कहिल्यै नदेखेको बताए ।
वडाध्यक्ष गिरीसँग लोकान्तरकर्मी अजयअनुरागीले गरेको कुराकानी जस्ताको त्यस्तै :
यहाँको अवस्था एकदमै अन्योलग्रस्त छ । फसेका मानिसहरूको उद्धार गर्ने काम जारी छ। उद्धार गरिएका मानिसको संरक्षण गर्ने काम पनि भइरहेको छ ।
एक्कासि यति ठूलो बाढी कसरी आयो भन्ने कुराको अहिलेसम्म कारण खुलेको छैन । कहाँबाट पहिरो आयो, कति बस्ती गयो, के भयो भन्ने कुरा नै थाहा हुन सकेको छैन ।
धेरै जना मानिसहरू अहिलेसम्म सम्पर्कमा आउन सकेका छैनन् ।
मेलम्ची र इन्द्रावतीको शिरबाट एकैपटक दुईवटै खोला एकदम ठूलो र भयानक भएर आए ।
हाम्रो दुई पुस्ता अघिसम्मका मानिसले समेत कहिल्यै नसुनेको, नदेखेको बाढीपहिरो आएर महाप्रलय भयो। के भयो भन्ने कुरा अहिलेसम्म हामीले बुझ्न नै सकेका छैनौं।
सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी गाउँपालिकाको माथि हिमालदेखि नै कुन पहाड बग्यो, कति बस्ती लग्यो अथवा मेलम्ची खोलाको माथिल्लो भेगमा कहाँ कति क्षति भएर आयो यकिन हुन सकेको छैन ।
हिजो बेलुका नै १३ जना बगाएर लग्यो भन्ने कुरा आएको थियो। अहिलेको हल्ला सुन्दा तीन/चार सय जति मानिस हराइरहेको भन्ने कुरा आइरहेको छ। तर, यथार्थ विस्तारै खुल्दै जाने र एकिन हुनेछ।
हाम्रो नगरपालिकाको तालामाराङदेखि सीताघाटसम्मको धेरै बजार बगाएको छ । हाम्रो गाउँले पाटी बजार, मेलम्चीको कालिमाटी बजारदेखि आसपासका सम्पूर्ण बजार क्षतविक्षत् भएको छ।
उता हेलम्बु गाउँपालिकाका धेरै बस्ती बगाएको छ। खोला छेउछाउका सबै बस्तीहरू ध्वस्त भएको छ । एता पाँचपोखरीबाट इन्द्रवती भएर आउने वारपार किनारको सबै बस्ती केही पनि छैन।
झोलुंगे पुलदेखि मोटर पुल सबै बगाएको छ। कुनै पनि संरचना बाँकी छैन। माथिमाथि भित्तामा टाँसिएका केही घरहरू जोगिएका छन् । त्यसबाहेक खोला किनारमा रहेका कुनै पनि घर बाँकी छैनन् ।
अहिले त कति घर बग्यो भन्ने कुराको अनुमान लगाउन पनि गाह्रो छ । मेरो विचारमा १ हजारभन्दा बढी घरहरूमा क्षति भएको छ।
उद्धारका लागि नेपाल सरकारमार्फत दुईवटा हेलिकप्टर प्राप्त छ । त्यसबाहेक नेपाली सेनाको हेलिकप्टर समेत गरेर ५ वटा हेलिकप्टरहरू उद्धार कार्यमा खटिएको छ। मेलम्ची बजार सबै खाली गराइएको छ। माथिमाथि बस्तीका ठाउँमा मानिसहरूलाई लगिएको छ।
हिजो बेलुका ५ बजेदेखि महासागर उर्लिएको जस्तो महाप्रलय आयो । माथिबाट कति पहाड ध्वस्त भएर आयो भन्ने कल्पना समेत गर्न सकेका छैनौं। यसअघि आएको भूकम्पमा धेरै डाँडामा, जमिनमा चिरा परेको थियो। त्यति बेलादेखि नै जोखिम भोगेको यस जिल्लामा फेरि अर्को ठूलो महाप्रलय आयो। भूकम्पमा आएको क्षतिभन्दा धेरै ठूलो, कल्पना नै गर्न नसक्ने गरी क्षति भएको छ।
मेलम्ची नगरपालिकाको वडा नम्बर ६, ९,१०,११,१२,१३ मा सबैभन्दा बढी क्षति भएको छ। त्यसैगरी इन्द्रावती गाउँपालिकाको विशेष गरेर मेलम्ची र इन्द्रावती खोलाको छेउमा पर्ने सबै वडाका बस्तीहरू प्रभावित भएका छन् ।
घरमा रहेका भाँडाबर्तन, खानेकुरादेखि लगाउने लत्ता कपडा समेत बगाएको छ। खेतीपाती समेत सबै नष्ट भएका छन् । खोलाको माथिमाथि लगभग २० किलोमिटर भन्दामाथि गाउँमा पानी पसेको छ।
भूकम्प आएको जस्तै सबै गाउँका बस्तीहरू थर्किएका छन् । सबै जमिन थरर भएको छ। रातभरि नसुतेका मानिसहरू अझै त्रसित छन् । भूकम्पका बेलाजस्तो डराएर बसेका छन् ।
आसपासका मानिसलाई रातभरि माथिमाथिको बस्तीमा पुर्याइएको थियो। प्रहरी प्रशासनले रातिदेखि नै खोला किनारका बस्तीमा सूचना सम्प्रेषणको काम गरेका थिए।
रातभरि गाउँका मानिस चिन्तामा जागेर बसे । पानी परेको बेला कहाँ जाने भन्ने समस्या पनि भयो। माथिका मानिसले तल खोलाका मानिसलाई शरण दिएर राखेका छन् ।
माथिका मानिसले सकेसम्म उद्धार गर्ने, संरक्षण गर्ने, माथि लग्ने काम भयो। अहिलेसम्म पनि कतिपय मानिस फसेका छन् ।
उद्धार गरिएका मानिसलाई खानाको व्यवस्था अहिले नगरपालिकादेखि विभिन्न संघ-संस्थाले गरिरहेका छन् ।