
मंगलवार रातिदेखिको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र बगरमा परिणत भएको छ । हिजोसम्म हरियाली देखिएका खेतका फाँट आज बगरमा परिणत भएका छन् ।
हेलम्बु क्षेत्रमा गएको पहिरोका कारण आएको लेदोका कारण धेरै क्षति भएको स्थानीहरूले अनुमान गरेका छन् । तीव्र बेगमा आइरहेको खोला कहिले वारि र कहिले पारि गरिरहेको छ ।
स्वास्थ्य मन्त्री एवं सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा निर्वाचित पूर्व सांसद् शेरबहादुर तामाङले हेलम्बु १ भ्रातेकमा पहिरो गएको सामाजिक सञ्जालमा लेखेका छन् ।
स्थानीय कृष्णबहादुर मिजारले मेलम्ची नदीमा आज पानी नभएर हिलोको लेदो बगिरहेको बताए ।
‘सपना जस्तै लागेको छ, हेर्दा हेर्दै मेलम्ची बगरमा परिणत भयो,’ मिजारले लोकान्तरसँग भने ।
बगरमा काठका मुढाहरू बगाएर ल्याएकाले माथि ठूलै पहिरो गएको आशंका स्थानीयले गरेका छन् । नेपाली सेना, प्रहरी र स्वयंसेवकहरूले अहिले पनि उद्धार कार्य जारी राखेका छन् ।
बाढीले मेलम्ची र इन्द्रावतीका पुलहरू पनि बगाएको छ ।
हेलम्बुदेखि मेलम्ची बजारसम्म नदीको किनारामा रहेका ट्राउट माछा पालन र कृषि फार्महरू पनि बाढीले ध्वस्त पारिदिएको छ ।
अहिले पनि मेलम्ची क्षेत्रमा भीषण पानी परिरहेको स्थलगत रिर्पोटिङमा रहेका लोकान्तर सहकर्मी गगन अर्याल र विश्वास खनालले जानकारी गराएका छन् ।