२८ जेठ २०८३, बिहीबार
सिन्धुपाल्चोकमा बाढीको वितण्डा

‘मेलम्चीमा आज पानी होइन लेदो बगिरहेको छ, सुन्दर नगरलाई हेर्दाहेर्दै बगर बनायो’

‘मेलम्चीमा आज पानी होइन लेदो बगिरहेको छ, सुन्दर नगरलाई हेर्दाहेर्दै बगर बनायो’

मंगलवार रातिदेखिको बाढीका कारण सिन्धुपाल्चोकको मेलम्ची बजार क्षेत्र बगरमा परिणत भएको छ । हिजोसम्म हरियाली देखिएका खेतका फाँट आज बगरमा परिणत भएका छन् । 

हेलम्बु क्षेत्रमा गएको पहिरोका कारण आएको लेदोका कारण धेरै क्षति भएको स्थानीहरूले अनुमान गरेका छन् । तीव्र बेगमा आइरहेको खोला कहिले वारि र कहिले पारि गरिरहेको छ । 

स्वास्थ्य मन्त्री एवं सिन्धुपाल्चोकबाट प्रतिनिधि सभामा निर्वाचित पूर्व सांसद् शेरबहादुर तामाङले हेलम्बु १ भ्रातेकमा पहिरो गएको सामाजिक सञ्जालमा लेखेका छन् । 

स्थानीय कृष्णबहादुर मिजारले मेलम्ची नदीमा आज पानी नभएर हिलोको लेदो बगिरहेको बताए । 

‘सपना जस्तै लागेको छ, हेर्दा हेर्दै मेलम्ची बगरमा परिणत भयो,’ मिजारले लोकान्तरसँग भने । 

बगरमा काठका मुढाहरू बगाएर ल्याएकाले माथि ठूलै पहिरो गएको आशंका स्थानीयले गरेका छन् । नेपाली सेना, प्रहरी र स्वयंसेवकहरूले अहिले पनि उद्धार कार्य जारी राखेका छन् । 

बाढीले मेलम्ची र इन्द्रावतीका पुलहरू पनि बगाएको छ ।

हेलम्बुदेखि मेलम्ची बजारसम्म नदीको किनारामा रहेका ट्राउट माछा पालन र कृषि फार्महरू पनि बाढीले ध्वस्त पारिदिएको छ ।

अहिले पनि मेलम्ची क्षेत्रमा भीषण पानी परिरहेको स्थलगत रिर्पोटिङमा रहेका लोकान्तर सहकर्मी गगन अर्याल र विश्वास खनालले जानकारी गराएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्