
नेपाली कांग्रेस नेतृत्वको विपक्षी गठबन्धनमा रहेका पाँच शीर्ष नेताले प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका कार्यक्रम सहभागि हुन पार्टी कार्यकर्तालाई आह्वान गरेका छन् ।
विपक्षी गठबन्धनले सरकार उक्त प्रकारको प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी गैर जिम्मेवार रहेको आरोप लगाएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका नेता माधव कुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले बिहीवार विज्ञप्ति प्रकाशित गरी उद्धार र राहतका काम प्रभावकारी रूपमा अगाडि बढाउन नेपाल सरकारसँग माग गरेका हुन् ।
‘बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरूका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन हामी नेपाल सरकारसंग माग गर्दछौं । इमान्दारी, तदारुकता र पारदर्शीरूपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ, ‘यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पुर्याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघ–संस्थाहरूलाई हामी हार्दिक आह्वान गर्दछौं ।’