गर्मीमा डिहाइड्रेसन तथा लू लाग्ने समस्या धेरैले भोगिरहेका हुन्छन् ।
यस मौसममा खानपानमा धेरै ध्यान दिनुपर्ने हुन्छ । पानीको मात्रा प्रशस्त भएको फल यस मौसममा खानुपर्छ ।
खरबुजा
खरबुजामा ९२ प्रतिशतसम्म पानी हुन्छ । यो स्वादिष्ट हुनुका साथै पोषक तत्त्वले भरपूर पनि हुन्छ । मुटुरोगबाट यसले जोगाउँछ र रोगप्रतिरोधक क्षमता पनि वृद्धि गर्छ ।
आँप
आँपमा ८३ प्रतिशतसम्म पानी हुन्छ । आँपमा एन्टीअक्सिडेन्ट भरपूर हुन्छ र रोगप्रतिरोधक क्षमता पनि यसले बढाउँछ । यसले पाचन प्रणाली दुरुस्त राख्ने, कोलेस्ट्रोल घटाउने र आँखा स्वस्थ राख्ने काम पनि गर्छ ।
सुन्तला
त्यसो त सुन्तलाको जाडोमा पाइने फल हो तर आजकल गर्मीमा पनि भेटिन्छ । सुन्तलामा ८७ प्रतिशत पानी हुन्छ । यसले शरीरमा स्फुर्ति दिने काम गर्छ । व्यायाम गर्नेहरूले त अवश्य सुन्तला खानुपर्छ । भिटामिन सीको प्रमुख स्रोत सुन्तलाले छाला स्वस्थ बनाउँछ र मुटु पनि बलियो बनाउँछ ।
स्याउ
स्याउमा ८६ प्रतिशत पानी पाइन्छ । स्याउन सबै आवश्यक पोषक तत्त्वहरू भेटिन्छन् । यसले मेटाबोलिजम सुधार्ने, मुटुलाई स्वस्थ राख्ने र रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्ने काम गर्छ । यसमा भएको भिटामिन र मिनरल्सले दाँत र हाडलाई बलियो बनाउँछ र छालालाई स्वस्थ राख्छ ।
स्ट्रबेरी, भुइँकटहर र मेवामा पनि प्रचुर मात्रामा पानी पाइन्छ । त्यसैले यी फलहरू खान सल्लाह दिइन्छ ।