०३ असार २०८३, बुधबार
मेलम्ची बाढीले दिएको पीडा

मेलम्ची बाढी: २ महिनाअघि भित्रिएकी बुहारी भन्छिन्– 'आधा दिमाग खुस्किसक्यो, अब बौलाउन बाँकी छ'

असार ६, २०७८
मेलम्ची बाढी: २ महिनाअघि भित्रिएकी बुहारी भन्छिन्– 'आधा दिमाग खुस्किसक्यो, अब बौलाउन बाँकी छ'
फोनमा बुहारी सीता, बीचमा ससुरा भूमिनन्द

२५ वर्षीया सीता दुलाल २ महिनाअघि मात्र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर- ११ स्थित मेलम्ची बजारको तीन तल्ले घरमा भित्रिएकी थिइन् ।

वैशाख १६ गते २८ वर्षीय नविन दुलालसँग उनको बिहे भएको थियो। त्यसयता दैनिकी दैनिकी हाँसीखुसी नै बितिरहेको थियो ।

तर गत मंगलवार साँझ आएको बाढीका कारण अहिले उनीसहित उनका घर परिवारका सबै सदस्यहरू सडकमा आउन बाध्य भएका छन्। करोडौं पर्ने घरजग्गा बाढीले पुरेपछि रातारात बेघर बनेर सुकुम्बासीको जीवन जिउन बाध्य भएका छन्।

यो सपना हो कि विपना सोच्नै नसकेको सीता बताउँछिन् ।

‘अब बौलाउन मात्र बाँकी छ । आधी दिमाग खुस्किएको जस्तो लागिरहेको छ,’ उनले लोकान्तरसँग भनिन्, ‘मनभित्र आगोको गाँठो पारेर बस्न बाध्य छौं ।’

आफन्तको फोन आएर हालखबर सोधे रुन मन लाग्ने, कोही आएर के भयो भनेर सोधीखोजी गर्दा पनि रुन मन लाग्ने उनले बताइन् ।

उनी मात्र होइन उनको घर परिवारका सबै सदस्य अहिले त्यस्तै मनोविज्ञानका साथ बाँचिरहेका छन् ।  

सीताका ससुरा तथा घरका अभिभावक ४९ वर्षीय भूमिनन्द दुलालले जीवनभर कमाएको पैसा तथा गाउँको पैतृक सम्पत्ति बेचेर आएको पैसा लगानी गरेर ६ आना जग्गा किनेका थिए।

२ वर्षअघि उनले तीन तल्ले घर बनाए । अहिले उक्त जग्गाको ५० लाख रुपैयाँ प्रतिआना पर्ने उनको कथन छ। घर बनाउँदा १ करोड ५ लाख रुपैयाँ लागेको उनी बताउँछन्।

बाढीले उनको तीन तल्ले घरको दुई तल्ला पुरिएको छ। ‘हिजोसम्म करोडपति थियौं, तर अहिले रोडपति भएका छौं,’ दुलालले भने, ‘घरको कुनै पनि सामान निकाल्न सकिएन । नुनदेखि सुनसम्मको सबै सामान गयो।’

उनीहरू अहिले मेलम्ची बजारमाथि रहेको आफन्तको घरमा आश्रय लिएर बसेका छन् ।

घरको तल्लो सटरमा वर्कसपदेखि रेडियो/घडी पसल सञ्चालकलाई भाडामा दिएका थिए। दोस्रो तल्लामा भाडामा मानिस बस्ने गरेका थिए। उनीहरूले दिने गरेको भाडाबाट घर चलेको थियो। आगामी दिनमा कसरी घर चलाउने भन्ने चिन्ता समेत थपिएको छ ।

‘यो बाढीका कारण हामी पूर्णरूपमा विस्थापित भएका छौं, त्यहाँ पुरिएको घरमा फेरि पनि बस्ने भन्ने हिम्मत आएको छैन,’ उनले भने, ‘अहिले त वर्षा शुरू मात्र भएको छ । अब पछिपछि पनि बाढी आउने खतरा भएकाले त्यहाँ फेरि पनि बस्न सकिन्न।’

आफन्तको घरमा शरण लिएर बसेका उनी अब काठमाडौं गएर भाडाको कोठामा बस्ने सोचमा छन् । 'त्यहाँ कुनै काम खोजेर हुन्छ वा सानो व्यापार व्यवसाय गरेर बसे हुन्छ, कुनै न कुनै उपाय गरेर काठमाडौं बसाईं सर्ने हो,' उनले भने ।

उनले काठमाडौंमा कोठा खोज्न थालिसकेका छन् ।

‘आफन्त र चिनजानका मानिसलाई काठमाडौंमा कोठा खोज्न भनेका छौं । भेटिए तत्काल जाने हो,' उनले भने ।

अहिलेसम्म राहतको कुनै पनि सामान उनले पाएका छैनन् ।

'यहाँ राहत मागेर खानुभन्दा पनि आफन्तले नै खुवाएका छन्, तर जतिसक्दो छिटो काठमाडौंमा डेरा भेटिए जाने थियौं,' उनले भने ।

मेलम्चीमा आएको बाढीबाट धेरै मानिस सुकुम्बासी बन्न बाध्य भएका छन्।

भएको घरजग्गा समेत बाढीले पूरेपछि कतिपय मानिस अहिले आफ्नो गाउँ फर्किएका छन् भने कतिपय मानिस फर्किने तरखरमा छन्।

उनी मात्र होइन, भूमिनन्दका जम्मा सात दाजुभाइका सबै घर बाढीले पुरिएका छन् । ८४ वर्षीय दुमप्रसाद दुलाल र ८३ वर्षीया  टक्करकुमारी दुलालका सातजना छोराहरू छन् ।

रुद्रप्रसाद दुलाल, कृष्णप्रसाद दुलाल, मुक्तिनाथ दुलाल, भूमिनन्द दुलाल, बलराम दुलाल, तारानाथ दुलाल, जयराम दुलाल गरी सात दाजुभाइले त्यहाँ जग्गा किनेर घर बनाएर बसोबास गर्दै आएका थिए। सबै परिवारमा कुल ५५ जना सदस्य थिए।

बाढीका कारण ५५ सदस्यसहितको परिवार अचानक विस्थापित भएका छन्। रुद्रप्रसाद दुलालकी २८ वर्षीया बुहारी कविता दुलाल भने अब कहाँ जाने भन्ने चिन्तामा छिन्।

आफ्नै घर जग्गा हुँदा पनि सुकुम्बासी बस्ने कुरा सपनामा पनि नसोचेको उनले बताइन्।

‘सरकारले हामीलाई एउटा बस्ने ठाउँ व्यवस्था गरिदिनुपर्छ, अब हामीले गर्न सक्ने केही कुरा बाँकी रहेन,’ उनले भनिन्, ‘अहिले आएको बाढीले कोरोना पनि के हो, भूकम्प त केहो जस्तो लागेको छ, मन नै बौलाएको छ।’

भूकम्पले घर मात्र हल्लाए पनि अहिले बाढीले सडकमा ल्याएको उनको दु:खेसो छ ।

salt training

कमेन्ट गर्नुहोस्