स्पेनले यस युरोकपमा अपेक्षाअनुसारको प्रदर्शन गर्न नसकेपछि मिडफील्डर रोड्री निराश बनेका छन् ।
शनिवारको खेलमा स्पेन पोल्यान्डसँग १–१ को बराबरीमा रोकिएको थियो ।
खेल सकिएपछि टेलेसिन्सोसँग कुरा गर्दै उनले बताए, ‘हामी तनावमा छौं । बल गोलपोस्टभित्र पस्नै चाहँदैन । यस्ता प्रतियोगितामा सजिलो विपक्षी कहिल्यै पाइँदैन । हामीले अवसर सिर्जना गरेका थियौं तर बल भित्र नपसेपछि आफैंमा शंका लाग्न थाल्छ । मैदान पनि राम्रो थिएन तर हामीले त्यसको बहाना बनाउन मिल्दैन । स्पेनीहरूले हामीलाई पछिसम्म समर्थन गरून् भन्ने म आशा गर्छु किनकि हामीलाई त्यो आवश्यक छ । अहिले आत्मसमर्पण गर्ने वा आलोचना गर्ने बेला हैन । अब सबै कुरा हामी आफैंमा निर्भर छ ।’