३२ असार २०८३, बिहीबार

विवादास्पद छवि भएका व्यक्ति रईसी बने इरानका नयाँ राष्ट्रपति, को हुन् उनी ?

असार ६, २०७८
विवादास्पद छवि भएका व्यक्ति रईसी बने इरानका नयाँ राष्ट्रपति, को हुन् उनी ?

इरानमा न्यायपालिकाका प्रमुख इब्राहिम रईसी नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् । 

६० वर्षीय रईसीलाई अनुदारवादी तथा कट्टरपन्थी क्रान्तिकारी धारले व्यापक समर्थन गरेको छ । 

उदारवादी राष्ट्रपति हसन रूहानी अगस्ट महिनामा अपदस्थ भएपछि रईसीले उनको स्थान लिनेछन् र त्यस अवधिसम्मका लागि उनी प्रधानन्यायाधीश पदमा कायम रहनेछन् । 

इरानका सर्वोच्च नेता आयातोल्लाह अली खमेनी जस्तै रईसी पनि कालो पगडी लगाउँछन् । उनी पैगम्बर मोहम्मदका सन्तति अर्थात् सैयद हुन् भन्ने यसबाट थाहा हुन्छ । 

८२ वर्षीय खमेनीको देहान्त भएपछि रईसीले उनको स्थान लिनसक्ने बताइएको छ । 

रईसी उत्तरपूर्वी इरानको मशहलमा जन्मेका हुन् । उक्त शहर शिया मुसलमानहरूको तीर्थस्थल हो किनकि त्यहाँ आठौं इमाम रेजाको दरगाह छ । 
 

पूजारी परिवारमा जन्मेका रईसीले धार्मिक शिक्षादीक्षा प्राप्त गरेका हुन् । १५ वर्षको उमेरदेखि उनले कोमस्थित मदरसामा शिक्षा लिन थालेका थिए । त्यहाँ उनले खमेनी लगायत कैयौं विद्वानहरूबाट अध्ययन गरेका थिए । 

मदरसाको शिक्षाका अलावा आफूसँग कानूनमा विद्यावारिधिको उपाधि पनि रहेको उनले बताएका छन् ।

सन् १९७९ को इस्लामिक क्रान्तिअघि उनले तत्कालीन राजा मोहम्मद रेजा शाह पहलवीविरुद्ध आन्दोलन गरेका थिए । 

क्रान्ति सफल भएपछि रईसी दक्षिणपश्चिम इरानमा रहेको मस्जिद सोलेमानको न्यायाधिवक्ता कार्यालयमा प्रवेश गरेका थिए । त्यसको ६ वर्षमा उनले विभिन्न स्थानमा अभियोजनकर्ताको भूमिका निर्वाह गरेका थिए । 

सन् १९८८ मा इरान र इराकबीचको युद्ध टुंगिएपछि रईसप् कथित मृत्यु आयोगको सदस्य बनेको र उक्त आयोगले हजारौं राजनीतिक बन्दीलाई बेपत्ता तथा गोप्य रूपमा मृत्युदण्ड दिएको आरोप मानवअधिकारवादी संगठनहरूले लगाएका छन् । 

सामूहिक हत्या गराएको र सार्वजनिक विरोध प्रदर्शनमा दमन गरेकोमा अमेरिकाले सन् २०१९ मा रईसीलाई समेत प्रतिबन्ध लगाएको थियो । 
 

एम्नेस्टी इन्टरनेसनलले रईसीलाई मानवताविरुद्धको अपराधको आरोपको सामना गर्न आह्वान गरेको छ । 
 

रईसी सन् २०१४ मा देशका महान्यायाधिवक्ता बनेका थिए । सन् २०१६ सम्म उक्त पदमा रहेका उनी न्यायपालिका छोडेर परोपकार ट्रस्टमा गएका थिए । त्यसमा छँदा उनले देशको धार्मिक तथा व्यापारिक सम्भ्रान्तहरूसँग ​सम्बन्ध कायम गरेका थिए । 
 

रईसीका दुई छोरी छन् । उनी उग्रअनुदारवादी मौलवी अहमद आलमोलहोदाका ज्वाईं हुन् । 

उनले अमेरिका तथा पश्चिमसँगको आणविक सम्झौतालाई पहिला विरोध गरेको भए पनि अहिले त्यसलाई सशर्त समर्थन गर्ने बताएका छन् । 

उनले मतदाताहरूलाई मूल्यवृद्धि रोक्ने, कम्तीमा दश लाख जागिर प्रत्येक वर्ष सिर्जना गर्ने, विवाह गरेका र पहिलोपटक घर किन्न खोजेकाहरूका लागि विशेष ऋण उपलब्ध गराउने, वित्तीय पारदर्शिता अपनाउने र भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धताका साथ चुनाव जितेका हुन् । 
 

salt training

कमेन्ट गर्नुहोस्