अमेरिकाका राष्ट्रपति जो बाइडनका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सलिभानले कोभिड–१९ महामारीको उत्पत्तिका विषयमा भइरहेको अनुसन्धानमा सहयोग गर्न चीनलाई चेतावनी दिएका छन् ।
गत साता जी७ मुलुकहरूले कोरोनाभाइरस उत्पत्तिमा नयाँ अनुसन्धानका लागि संयुक्त आह्वान गरेका थिए ।
सलिभानले बाइडनको युरोप भ्रमणबाट चीनका विषयमा सर्वसम्मति निर्माण गर्न सहायता पुगेको बताए ।
‘
यो कूटनीतिक कदमले संसारका मुलुकहरूलाई एकजुट गरेको छ र चीनमाथि राजनीतिक तथा कूटनीतिक दबाब दिएको छ । चीनले अनुसन्धानकर्मीहरूलाई भाइरस कहाँबाट आएको हो भन्ने विषयमा जिम्मेवार तरिकाले खोजबिन गर्न दिनुपर्छ अन्यथा अन्तर्राष्ट्रिय समुदायमा ऊ एक्लिनेछ,’ उनले फक्स न्युजसँग कुरा गर्दै बताए ।
भाइरसको उत्पत्तिको विषय अमेरिकामा गहन निगरानीमा छ । अग्रणी वैज्ञानिकहरूले भाइरस पशुबाट प्राकृतिक रूपमा उत्पत्ति भएको भन्ने विषयमा धेरै चाँडो निष्कर्ष निकालिएको बताउन थालेका छन् ।
केहीले यो भाइरस वुहानको प्रयोगशालाबाट चुहिएको हुन सक्ने सम्भावनामा समेत विचार गरिरहेका छन् ।
बाइडनले गुप्तचर निकायलाई यस विषयमा अनुसन्धान गर्न र ९० दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएका छन् ।