इरानका विभिन्न मालवाहक जहाजहरूले गोप्य रूपमा चीनलाई तेल बेचेको र त्यसबाट प्राप्त रकमले गोप्य आणविक कार्यक्रमलाई लगानी गरेको द मेल अन सन्डेले खुलासा गरेको छ ।
इरानका १२३ वटा जहाजहरू अन्य मुलुकको झण्डा राखेर विगत एक वर्षमा चीन गएर दिनको १० लाख ब्यारल तेल पठाइरहेका छन् ।
गुप्तचर विज्ञहरूले इरान अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजूद आणविक क्षमता वृद्धि गरिरहेको भन्दै चेतावनी दिएका छन् ।
इरानले विभिन्न तरिका अपनाएर अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्दै अवैध तेल पठाएको छ । साना मुलुकहरूमा जहाज दर्ता गरेर चलाउँदा ती मुलुकहरूले आफ्नो झण्डा भएको ट्यांकरको निगरानी गर्न सक्दैनन् ।
इरानी जहाजहरूले जीपीएसमा पनि छेडखानी गर्दै जहाज एक ठाउँमा भएको तर जानकारी दिने तर खासमा त्यो अर्कै ठाउँमा हुने गरेको पनि पाइएको छ ।
द मेल अन सन्डेलाई उपलब्ध गराइएको भूउपग्रहीय तस्वीरमा जहाजहरूले जीपीएस बिगारेर दक्षिण चीन सागर गई त्यहाँ चिनियाँ जहाजहरूमा तेल थुपारेको देखाएको छ ।
इरानले अन्तर्राष्ट्रिय आतंकवादलाई लगानी नगरोस् र आणविक हतियार नबनाओस् भनी अमेरिकाले प्रतिबन्ध लगाउने गरेको हो ।
तर चीनले यस अमेरिकी प्रतिबन्धलाई उल्लंघन गर्ने गरेको छ र इरानबाट तेल किन्ने गरेको छ । त्यसबाट प्राप्त रकम उसले आणविक गतिविधिमा लगाएको युनाइटेड अगेन्स्ट न्युक्लीयर इरान नामक अन्तर्राष्ट्रिय गैरनाफामूलक समूहले जनाएको छ ।