
नेकपा माओवादी केन्द्रले पार्टीको चुनाव चिह्नबाट निर्वाचित भएर अहिले नेकपा एमालेमा प्रवेश गरेका जनप्रतिनिधिलाई कारवाही गरेको छ ।
सोमवार बसेको माओवादी केन्द्रको केन्द्रीय कमिटीको भर्चुअल बैठकले पार्टी छाडेका पदाधिकारीमाथि कार्वाही गरेको हो ।
रौतहटका दुईजना मेयरसहित अन्य पार्टीमा लागेका स्थानीय तहका पदाधिकारीलाई कारवाही गरिएको केन्द्रीय सदस्य रामकुमार शर्माले लोकान्तरलाई जानकारी दिए ।
यसअघि केन्द्रीय समितिले दिएको अधिकार प्रयोग गर्दै प्रचण्डले उनीहरूमाथि कारवाही गरेका थिए ।
प्रचण्डले गरेको कारवाहीलाई निर्वाचन आयोगले मान्यता नदिएपछि केन्द्रीय कमिटीको बैठक राखिएको हो ।
रौतहटका प्रतिनिधि सभा सदस्य प्रभु साह एमाले प्रवेश गरेपछि उनकी श्रीमती रिनाकुमारी साहलगायत जनप्रतिनिधि एमालेमा सामेल भएका थिए ।
केन्द्रीय कमिटी बैठकको निर्णय लिएर माओवादी केन्द्र निर्वाचन आयोगमा जाने भएको छ ।
शर्माका अनुसार २ मेयर, केही वडाअध्यक्ष सहित १७ जना पदाधिकारीले माओवादी छाडेका छन् ।