०३ असार २०८३, बुधबार

कांग्रेस सभापतिका प्रत्यासी विमलेन्द्र, शशांक र प्रकाशमानको लञ्च मिटिङ, महाधिवेशनकेन्द्रित छलफल

कांग्रेस सभापतिका प्रत्यासी विमलेन्द्र, शशांक र प्रकाशमानको लञ्च मिटिङ, महाधिवेशनकेन्द्रित छलफल
तस्वीर : रामजी दाहालको फेसबुक

नेपाली कांग्रेसको १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेताहरूको भेटवार्ता बाक्लिन थालेको छ ।

यस क्रममा आसन्न महाधिवेशनमा सभापतिका प्रत्यासी विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच सोमवार निधिको निवासमा लञ्च मिटिङ भएको छ । 

कांग्रेसमा नेतृत्व परिवर्तनको बहस चलाएका नेतात्रयबीच आसन्न महाधिवेशनको विषयमा छलफल भएको स्रोतले बतायो । 

तीन जना नेता कांग्रेस संस्थापक नेताहरू बीपी कोइराला, गणेशमान सिंह र महेन्द्रनारायण निधिको परिवारका सदस्यहरू हुन् । 

उपसभापति निधि, महामन्त्री कोइराला र पूर्व महामन्त्री सिंहबीच नेपाली कांग्रेसको १४ औं महाधिवेशन लगायत समसामयिक विषयमा छलफल भएको छलफलमा सहभागी नेताका एक सहयोगीले लोकान्तरलाई जानकारी दिए । 

सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनबाट सभापतिमा लड्ने बताइरहँदा निधि, कोइराला र सिंहको सोमवारको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

कांग्रेसको महाधिवेशन भदौ १६ देखि १९ सम्म काठमाडौंमा गर्ने सहमति भएको छ । 

‘आज तीन नेताबीच सौहार्दपूर्ण छलफल भएको छ, आगामी दिनमा पनि छलफल गर्ने सहमति भएको छ,’ स्रोतले भन्यो ।

आजको भेटमा निधिले आफूले उम्मेदवारी दिने तयारी गरेको बताएका थिए ।

 

salt training

कमेन्ट गर्नुहोस्