०३ असार २०८३, बुधबार

अयोध्याधाम नयाँ धार्मिक गन्तव्य

असार ८, २०७८
अयोध्याधाम नयाँ धार्मिक गन्तव्य
फाइल तस्वीर

चारैतिर राष्ट्रिय निकुञ्जले घेरिएको प्राकृतिक रूपमा रमणीय माडी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकसित हुने भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान् श्रीरामको जन्मभूमि माडीको अयोध्यापुरीमा पर्ने चर्चा गरेपछि यो क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा विकास हुँदै छ ।

अयोध्याधाम निर्माण प्रचारप्रसार समितिका संयोजक श्रीप्रसाद दवाडीले माडीमा अयोध्याधाम निर्माण गुरुयोजनाअन्तर्गत यो क्षेत्रको विकासका लागि प्रदेश र सङ्घीय सरकारले बजेट नै विनियोजन गरेपछि धार्मिक पर्यटकीय गन्तव्यका रूपमा फड्को मार्ने देखिएको जानकारी दिए ।

“ऋषि वाल्मीकिको आश्रम रहेको वाल्मीकि आश्रम, पाँच पाण्डवले गुप्तवास बसेको गोद्धक, पाँच पाण्डव तालसमेतलाई समेटी अयोध्याधाम निर्माण गर्ने गरी योजना अघि बढेको छ”, संयोजक दवाडीले भने ।

अयोध्याधामसँगै माडीमा रहेको ऐतिहासिक सोमेश्वर गढी क्षेत्र माडीको धार्मिक पर्यटकीय क्षेत्रको विकासमा सहयोगी भएको उनले बताए । उनले थपे, “अब गुरुयोजनाअनुसार नै अयोध्याधामलाई पर्यटकीय क्षेत्र बनाउने कार्य सुरु हुन्छ ।”

माडीमा अयोध्याधाम निर्माणका लागि डेकोर स्टुडियो प्रालिले गत वर्ष नै गुरुयोजना तयार गरिसकेको छ । योजनाअनुसार अयोध्याधाममा काम गर्न दुई अर्ब ५० करोडदेखि तीन अर्ब रुपियाँसम्म खर्च लाग्ने अनुमान छ ।

अयोध्यापुरीलाई ऐतिहासिक, धार्मिक तथा पर्यटकीय सहरका रूपमा विकास गर्ने गुरुयोजनामा उल्लेख छ । सङ्घीय सरकारले आर्थिक वर्ष २०७८/७९ मा माडी अयोध्यापुरीको अध्ययन, अन्वेषण, संरक्षण र भौतिक निर्माणका लागि दुई करोड रुपियाँ विनियोजन गरेको छ ।

“वैकुण्ठ तालसम्म पुग्ने वैकुण्ठमार्ग निर्माण गर्न माडी नगरपालिका–८ कार्यालयको पश्चिमपट्टि अयोध्या वाटिका बनाउन तथा वैकुण्ठ क्षेत्रस्थित चौर वा बाह्रघरे गाउँमा राम–सीता उद्यान तयार गर्न र बाँदरझुलामा हनुमानझुला निर्माण गर्न बागमती प्रदेश सरकारले आगामी आवका लागि बजेट विनियोजन गरेको छ”, संयोजक दवाडीले भने ।

प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार माडी नगरपालिकामार्फत कार्यान्वयन हुने गरी पाँच पाण्डव कुण्ड संरक्षण गर्न आठ लाख रुपियाँ, शनि मन्दिर निर्माण गर्न र प्राकृतिक ताल संरक्षण गर्न १० लाख रुपियाँ विनियोजन भएको छ ।

गत वैशाखमा रामनवमीका दिन भगवान् श्रीराम, सीता र लक्ष्मणको मन्दिर निर्माण गरिएको छ । राजा दशरथले राज्य सञ्चालन गरेको दरबार, धर्मशाला, घोडसार, उद्यान तथा आधुनिक बसपार्क, विवाहमण्डप, वाल्मीकि आश्रमको निर्माणजस्ता कार्यलाई गुरुयोजनामा समेटिएको छ ।

पहिलो चरणमा राम–सीता, लक्ष्मणको मन्दिरसँगै गणेश र भगवतीको मन्दिर निर्माण अगाडि बढाउने गुरुयोजना दुईदेखि तीन वर्षभित्र सम्पन्न हुने बताइएको छ । पर्यटनविद् विश्व सुवेदी माडीमा अयोध्याधाम निर्माणसम्बन्धी योजना सफल भए चितवनमै धार्मिक पर्यटनमा नयाँ गन्तव्य थपिने बताउँछन्।

“अयोध्याधामले धार्मिक पर्यटनको विकासमा टेवा पुग्नेछ”, उनले भने, “विश्वभरिका हिन्दू धर्म मान्ने धार्मिक पर्यटकको एउटा गन्तव्य चितवनको माडीमा थपिएको छ ।”

गत वर्ष असार २९ गते भानुजयन्तीका दिन आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले भगवान् राम नेपालकै माडीको अयोध्यामा जन्मिनुभएको तथ्य प्रमाण रहेको चर्चा गरेपछि माडी धार्मिक पर्यटकीय क्षेत्रका रूपमा चर्चामा आएको हो । गोरखापत्र दैनिकमा वसन्त पराजुलीले खबर लेखेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्