
प्रतिनिधि सभा विघटन विरुद्ध परेको रिट माथि महान्यायाधिवक्ताको कार्यालयका तर्फबाट साढे सात घण्टा बहस गर्ने तयारी गरिएको छ। शेर बहादुर देउवा निवेदक रहेको रिटमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली र विघटित प्रतिनिधि सभाका सभामुख अग्नि प्रसाद सापकोटालाई विपक्षी(प्रतिवादी) बनाइएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको संयोजकत्वमा गठित संवैधानिक इजलासमा प्रतिवादीका लागि समेत १५ घण्टा समय प्रदान गरिएको छ। जस मध्ये साढे ७ घण्टा महान्यायाधिवक्ता कार्यालयको तर्फबाट सरकारी वकिलले तथा बाँकी रहेको साढे ७ घण्टाको समयमा राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको तर्फबाट अन्य निजी प्राइभेट वकिलहरूले बहस गर्ने भएका छन्।
महान्यायाधिवक्ता कार्यालयका प्रवक्ता तथा महान्यायाधिवक्ता संजिबराज रेग्मीका अनुसार महान्यायाधिवक्ता कार्यालयको तर्फबाट ११ जनाको नाम बहसका लागि सर्वोच्च अदालतमा पठाइएको छ। जस मध्ये असार १४ गते हुने बहसमा सबै भन्दा पहिले महान्यायाधिवक्ता रमेश वडालले बहसको सुरुवात गर्नेछन्। महान्यायाधिवक्ता वडालले ३ घण्टा समय लिएका छन्।
त्यसै गरी नायब महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले २ घण्टा, लिए पछि बाँकी रहेको साढे ५ घण्टामा अन्य नायब तथा सह महान्यायाधिवक्ताले बहस गर्नेछन्।
प्रवक्ता रेग्मीले लोकान्तरलाई दिएको जानकारी अनुसार ९ जना मध्ये कसैले ३० मिनेट त कसैले २० मिनेट बहस गर्नेछन्। नायब महान्यायाधिवक्ताहरू विश्वराज कोइराला, टेक बहादुर घिमिरे र श्याम कुमार भट्टराईका साथ साथै सह न्यायाधिवक्ताहरू संजिबराज रेग्मी, लोकराज पराजुली, गोपाल घिमिरे, उद्धव पुडासैनी र खेमराज ज्ञवालीले बहस गर्नेछन्।
प्रधानमन्त्री ओलीको तर्फबाट बहस गर्ने यी वरिष्ठहरू
सरकारी पक्षका वकिलले बहस गरे पछि प्रधानमन्त्री ओलीका तर्फबाट समेत प्राइभेट वकिलको रुपमा ७ जना वरिष्ठ अधिवक्ताहरूले बहस गर्नेछन्। जस मध्ये वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, पूर्व महान्यायाधिवक्ता अग्नि प्रसाद खरेल, वरिष्ठ अधिवक्ता विजयकान्त मैनाली, सुरेन्द्र भण्डारी, महेश नेपाल, ईश्वरी भट्टराई र सुरेन्द्र महतोले बहस गर्नेछन्। वरिष्ठ अधिवक्ता महतो भने यस अघि प्रतिनिधि सभा विघटनको मुद्दामा रिट निवेदकको तर्फबाट प्रधानमन्त्री ओलीको विपक्षमा बहस गरेका थिए।
त्यसै गरी राष्ट्रपति भण्डारीको तर्फबाट पनि केही वकिल रहनेछन्। सभामुख सापकोटाको वकिलका लागि १ घण्टा समय प्रधानन्यायाधीश जबराले दिएका छन्। आवश्यक भए आधा घण्टा थप्न सकिने उनले आईतवार इजलासमा बताएका थिए। सभामुख सापकोटाको तर्फबाट लव कुमार मैनाली, श्याम प्रसाद कंडेल, श्रीकृष्ण सुवेदी,मेघराज पोखरेल र उपेन्द्र केशरी न्यौपानेले नाम लेखाएका छन्।