१७ असार २०८३, बुधबार

बुटवलमा शिक्षामन्त्रीको राजीनामा माग गर्दै पुत्ला दहन

बुटवलमा शिक्षामन्त्रीको राजीनामा माग गर्दै पुत्ला दहन

बुटवलमा दलित समुदायले राजीनामा माग गर्दै सोमबार शिक्षा तथा विज्ञान प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गरेका छन् ।

जातीय भेदभाव तथा छुवाछुत जस्तो सरकारवादी मुद्दाका अभियुक्त छुटाउन सरकारी दलबदलसहित गएको भन्दै मन्त्री श्रेष्ठको राजीनामा माग गर्दै पुत्ला दहन गरिएको हो ।

संयुक्त दलित संघर्ष समिति रुपन्देहीले बुटवलको ट्राफिक चोकमा शिक्षामन्त्रीको पुत्ला दहन गर्दै जातीय भेदभावविरुद्ध प्रदर्शन गरेको छ ।

जात व्यवस्था अन्त्य गर, मान्छे भएर बाँच्ने अधिकार सुनिश्चित गर, सम्पूर्ण दलित एक हौं, जात व्यवस्था बचाउने सरकार मुर्दावाद जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरिएको छ ।

सञ्चारकर्मी रुपा सुनारले जातकै कारण कोठाभाडामा नपाएको भन्दै काठमडौं बबरमहलकी सरस्वती प्रधानविरुद्ध कारवाही माग गर्दै उजुरी दर्ता गरेकी थिइन् । 

संयुक्त दलित संघर्ष समिति रुपन्देहीका अध्यक्ष हरिओम विश्वकर्माले देशमा गणतन्त्र स्थापना हुँदासम्म पनि जातीय भेदभाव अन्त्य नभएकोमा आक्रोश पोखे । उनले ९९ प्रतिशत दलित समुदायले कोठा भाडा नपाउने समस्या भएको भन्दै मनुवादी समाज परिवर्तन गर्ने अभियानमा लाग्न अपिल गरे ।  

बुटवलको पुष्पलालपार्कदेखि नाराबाजी गर्दै ट्राफिक चोकमा सभा भएको थियो । दलित संघ रुपन्देहीका अध्यक्ष रवि विश्वकर्माले जातका आधारमा विभेद हुनेक्रम नरोकिएकाले एकीकृत आन्दोलन गर्नुपर्ने बताए । 

दलित समुदायमाथि भेदभाव हुँदा सिंगो राज्यशक्ति लागिपरेको दलित अभियान्ता नरबहादुर सुनारले आरोप लगाए । दलित नेता ओमप्रकाश विश्वकर्मा, जीवन परियार लगायतले जातीय भेदभावविरुद्ध सशक्त रूपमा प्रतिरोधमा उत्रने चेतावनी दिए ।

salt training

कमेन्ट गर्नुहोस्