
काठमाडौं महानगरपालिकाले खुलामञ्चस्थित बसपार्क हटाएर सबै सवारीसाधनलाई ‘पीक एण्ड ड्रप’ प्रणालीमा सञ्चालन गर्ने भएको छ ।
महानगरको निर्णयसँगै अब साना तथा ठूला सार्वजनिक सवारीसाधन शहरी क्षेत्रमा लामो समयसम्म एकैस्थानमा रोकेर बस्न पाउने छैनन् । खुलामञ्चमा सवारी पार्किङ समेत गर्न पाउने छैनन् ।
काठमाडौं महानगरपालिकाले पुरानो बसपार्क हटाएर काठमाडौं टावर निर्माण गर्न थालेपछि बसपार्कलाई खुलामञ्चमा सारिएको थियो । अहिले खुलामञ्चबाट पनि बसपार्क हटाएपछि यातायात व्यवसायी तथा मजदुरले महानगरको निर्णयको विरोध गर्दै आएका थिए ।
महानगरपालिका र यातायात व्यवसायीका प्रतिनिधि तथा मजदुरका प्रतिनिधिबीच मंगलवार भएको छलफलमा आरएनएसी आसपास, न्युरोड गेट अगाडि र वीर अस्पताल अगाडिको रोडमा नै ‘पीक एण्ड ड्रप’ प्रणाली अद्यावधिक गरेर व्यवस्था मिलाउने सहमति भएको महानगर प्रहरी प्रमुख धनपति सापकोटाले जानकारी दिए ।
उनले भने, ‘साविकमा काठमाडौं महानगरपालिकाले सञ्चालन गरेको पुरानो बसपार्क भएको स्थानमा काठमाडौं टावर बनिरहेको छ । त्यसको निर्माण सम्पन्न भएपछि बसपार्क नै बन्ने हो । त्यो चाहिँ हामीले अस्थायी रूपमा खुलामञ्चमा सिफ्ट गरेका थियौं तर खुलामञ्चलाई अहिले खुलामञ्चकै रूपमा प्रयोग गर्नुपर्ने अवस्था भएकाले बसपार्कलाई बन्द गरेर खुलामञ्चकै रूपमा प्रयोग गरेर त्यहाँबाट सञ्चालित बसहरूलाई पुरानो ‘पीक एण्ड ड्रप’ पद्धतिमा सञ्चालन गर्नका लागि हामीले व्यवसायी साथीहरूसँग बसेर छलफल गर्यौं । हामी अहिले के निष्कर्षमा पुगेका छौं भने शहरी इलाकामा चल्ने यात्रुबाहक सवारीसाधनलाई ‘पीक एण्ड ड्रप’ प्रणालीबाट सडकको किनारमा लगेर रोक्ने, ओराल्ने, उकाल्ने अनि हिडाइहाल्ने । यो लामो समयसम्म होल्ड गरेर एकैठाउँमा बस्ने कुरालाई निरुत्साहित गर्ने अभिप्रायबाट हामीले प्रक्रिया अघि बढाएका छौं ।’