ओखलढुंगामा समयअगावै काम सक्ने निर्माण व्यवसायीलाई सिद्धिचरण नगरपालिकाले सम्मान गरेको छ ।
आठौं नगर सभाको अवसर पारेर नगरपालिकाले नेपाल सरकारसँग ठेक्का सम्झौता गरेर लिएको काम समयअगावै सक्ने ठेकेदारलाई दोसल्ला ओढाएर सम्मान गरेको हो ।
निर्वाचन क्षेत्रस्तरीय चक्रपथ (रिङरोड) को पहिलो खण्ड निर्माणको काम सक्ने निर्माण व्यवसायी तेजबहादुर भुजेल र सिस्नेखोला पुल बनाउने निर्माण व्यवसायी मोहन कार्कीलाई सक्नुपर्ने समयभन्दा करीब १ वर्षअगावै योजना सम्पन्न गरेकामा सम्मान गरिएको नगर प्रमुख मोहनकुमार श्रेष्ठले बताए । योजना जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारका बीचमा समयअगावै गुणस्तरीय काम गरेर योजना हस्तान्तरण गर्ने ठेकेदारलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको उनको भनाइ छ ।
‘योजना जिम्मा लिएर अलपत्र पारेकै कारण ठेकेदारप्रति सबैको धारणा गलत बन्ने अवस्था छ । वर्षौं ताकेता गर्दा पनि काम नभएका थुप्रै उदाहरण छन् तर उहाँहरूले समयअगावै राम्रो काम गरेर देखाउनुभयो,’ नगर प्रमुख श्रेष्ठले भने, ‘समयभित्रै राम्रो काम गर्ने ठेकेदार पनि छन् भन्ने उदाहरण देखाएकाले उहाँहरूलाई हामीले सम्मान गरेका हौं ।’
ठेकेदार सम्मानले नगर क्षेत्रका अन्य योजना समयमै सक्न अन्य निर्माण व्यवसायीलाई सन्देश दिने उनको भनाइ छ ।
१ नम्बर प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले निर्माण व्यवसायीद्वयलाई दोसल्ला ओढाएर सम्मान गर्दै प्रशंसापत्र प्रदान गरेका थिए । उनले निर्माण व्यवसायी इमान्दार भए मुलुकले विकासमा छिट्टै फड्को मार्ने बताए ।
‘यही जिल्लामा सुनकोशी पुल बनाउन १५–१८ वर्ष लाग्यो । त्यस्तै पुल अहिले एक वर्षमा बन्यो । यही हो हामीले ल्याएको समृद्धि,’ मन्त्री गुरुङले भने, ‘राम्रो काम नगर्ने ठेकेदारविरुद्ध सरकार कठोर भएर लाग्ने छ । अब यो प्रदेशमा जसले काम रोक्छ, उसको भुत्तानी रोकिन्छ ।’
राम्रो काम गर्नेलाई प्रोत्साहन र समयमै काम नगर्ने ठेकेदारलाई कानुनी कारबाही शुरू गर्न मन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।