२७ जेठ २०८३, बुधबार

मेचीनगर नगरपालिकामा मेचे ‘पहिलो जाति’ घोषणा, राजवंशी र धिमाललाई अमान्य

असार १६, २०७८
मेचीनगर नगरपालिकामा मेचे ‘पहिलो जाति’ घोषणा, राजवंशी र धिमाललाई अमान्य

झापाको मेचीनगर नगरपालिकाले नगरसभाबाट मेचे समुदायलाई ‘पहिलो जाति’ घोषणा गरेकोप्रति धिमाल र राजवंशी समुदायले आपत्ति जनाएका छन् ।

धिमाल र राजवंशी समुदायले कुनै खोज र अनुसन्धान नगरी मेचीनगर नगरपालिकाले मेचे समुदायलाई प्रथम जाति घोषणा गरेको आरोप लगाएका छन् ।

धिमाल समुदायको साझा प्रतिनिधित्व गर्दै आएको धिमाल जातीय विकास केन्द्रले मेचीनगर मात्र नभएर झापा, सुनसरी र मोरङ जिल्लामा जंगल फाँडेर पहिलो बस्ती बसाउने जाति धिमाल भएको दाबी गरेको छ ।

असार १० गते नगरपालिकाको आठौं नगर सभाले मेचे जातिलाई प्रथम जातिका रूपमा सम्मान दिइने निर्णय गरेको थियो ।

धिमाल जातीय विकास केन्द्र र राजवंशी समाज विकास समितिले मेचीनगरले सरोकारवाला कसैसँग समन्वय र अनुसन्धान नगरी गरिएको प्रथम जातिसम्बन्धी निर्णय अमान्य हुने विज्ञप्ति जारी गरेका छन् ।

राजवंशी समाज विकास समिति झापाका अध्यक्ष दिनेश्वर राजवंशीले प्रथम जाति हुने ऐतिहासिक आधारको पहिचान गर्न नगरपालिकाले तत्काल कार्यदल गठन गर्नुपर्ने माग गरेका छन् ।

धिमाल जातीय विकास केन्द्र झापाका इन्चार्ज खड्ग धिमालले मेचीनगरको निर्णय मान्य नहुने जनाउँदै प्रथम जातिका विषयमा प्रमाण संकलन गर्न एउटा आयोग गठन हुनुपर्ने माग गरे । राजवंशी र धिमाल दुवै समुदायको प्रतिनिधित्व गर्दै आएका संस्थाले मेचीनगर नगर प्रमुख विमल आचार्यलाई भेटेर यस विषयमा आफ्ना धारणा सहितको ध्यानाकर्षण पत्र बुझाएको छ ।

झापा जिल्लामा राजवंशी, धिमाल, मेचे, सन्थाल, किसान, मुण्डा, करुवा, झाँगड, पाहानलगायतका आदिवासीको परापूर्वकालदेखि बसोबास रहँदै आएको छ तर कुन जाति आदिवासी हो भन्ने विषयमा अनुसन्धान भएको छैन ।

झापामा ४ वर्षअघि दमक नगरपालिकाले धिमाल जातिलाई नगरको पहिलो जाति भनेर निर्णय गरेको थियो । दमक नगरपालिकाले प्रथम जातिको प्रतीकका रूपमा नगरपालिकाको प्राङ्गणमा कलात्मक शालिकसमेत स्थापना गरेको छ ।

कवि शिरोमणि मावि मेचीनगरका शिक्षक दामोदर ढुंगेलले सामाजिक सञ्जालमार्फत आदिवासीहरूको सामाजिक, भाषिक, सांस्कृतिक र आर्थिक पक्षको उन्नयन गर्नुपर्ने मुख्य दायित्वभन्दा पर गएर प्रथम जातिको घोषणामा प्रतिस्पर्धा किन भनेर प्रश्नात्मक टिप्पणी गरेका छन् ।

मेचीनगरका भाषाभाषीको अनुसन्धान गरिरहेका उनले बसोबासका आधारमा प्रथम जाति घोषणा गरिने हो भने मानवशास्त्रीय, समाजशास्त्रीय र भाषिक दृष्टिले वैज्ञानिक अध्ययन हुनुपर्ने सुझाव दिए ।

salt training

कमेन्ट गर्नुहोस्