३१ जेठ २०८३, आइतबार

तोकिएभन्दा बढी भाडा लिने आठ जना पक्राउ

तोकिएभन्दा बढी भाडा लिने आठ जना पक्राउ
ट्राफिक प्रहरी महाशाखा। फाइल तस्वीर

तोकिएको भन्दा बढी भाडा लिने आठ जनालाई ट्राफिक प्रहरीले पक्राउ गरेको छ। 

ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंबाट बाहिर जाने यात्रुहरूबाट तोकिएको भन्दा तेब्बर बढी भाडा लिएर ठगी गर्ने ६ जनालाई नयाँ बसपार्कबाट पक्राउ गरिएको हो। 

पक्राउ पर्नेहरूमा दाङ घरका ३५ वर्षीय सन्तोष दमाई, ३८ वर्षीय कुशलराम बस्नेत, २८ वर्षीय गीमबहादुर गाहा मगर, रूपन्देहीका ३६ वर्षीय दीपनारायण थापा, कपिलवस्तुका ४४ वर्षीय शिवलाल घिमिरे र मोरङका ३१ वर्षीय युवराज ढकाल रहेका छन्। 

उनीहरूलाई कारबाहीका लागि प्रहरी प्रभाग नयाँ बसपार्कमा बुझाएको महाशाखाले जनाएको छ।  

यस्तै काठमाडौंबाट निजी गाडीमा उदयपुरसम्म लैजाने भनेर यात्रुसँग भाडा लिएको भन्दै उदयपुरका २९ वर्षीय राकेश रसाइली र चावहिलबाट सोलुखुम्बु जाने यात्रुसँग प्रतिव्यक्ति पाँच हजारसम्म भाडा लिने २५ वर्षीय झनकबहादुर घिमिरेलाई समेत ट्राफिक प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई आवश्यक कारबाहीका लागि प्रहरी वृत्त गौशालामा बुझाएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

जारी निषेधाज्ञाको समयमा यात्रुहरू समस्यामा पर्न सक्ने र ठगिन सक्ने विषयलाई मध्यनजर गर्दै महाशाखाले विशेष टोली गठन गरेको छ। सो टोलीले बढी भाडा लिन सक्ने सम्भावित काउन्टरमा निगरानी गर्ने, आफैं यात्रु बनेर भाडा मोलमोलाई गर्ने, यात्रुहरूसँग गोप्य रुपमा बुझ्ने, सोधपुछ गर्ने र बढी भाडा लिने व्यक्तिहरूलाई नियन्त्रणमा लिएर कारबाही गर्ने महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए। 

महाशाखाका अनुसार निषेधाज्ञा सुरु भएपछि हालसम्म काठमाडौं उपत्यका बाहिर जाने यात्रुसँग तोकिएको भन्दा आठ गुणासम्म बढी भाडा लिइ यात्रु ठगी गर्ने ६१ जना काउन्टर कर्मचारीलाई पक्राउ गरी कारबाही गरिएको छ। 

ट्राफिक महाशाखाले तोकिएभन्दा बढी भाडा लिएमा प्रहरीको हटलाइन १०० वा ट्राफिक कन्ट्रोल १०३ मा सम्पर्क गर्नसमेत अनुरोध गरेको छ।

salt training

कमेन्ट गर्नुहोस्