विश्व स्वास्थ्य संगठनले चीनलाई औलोमुक्त देशका रूपमा बुधवार घोषणा गरेको छ । चीनले लामखुट्टेबाट सर्ने औलो निर्मूल गर्नका लागि विगत ७० वर्षदेखि प्रयास गरिआएको छ ।
सन् १९४० को दशकमा चीनमा वार्षिक तीन करोडजनामा औलो देखिन्थ्यो । तर अहिले लगातार चार वर्ष चीनभित्र औलोको एउटा पनि केस देखिएको छैन ।
‘औलोमुक्त भएकोमा हामी चीनका जनतालाई बधाई दिन्छौं,’ विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रोस एधानोम गेब्रेयेसुसले बताए ।
आफ्नो देशभित्र लगातार तीन वर्ष औलोको केस नदेखिएका मुलुकले विश्व स्वास्थ्य संगठनसमक्ष प्रमाणीकरणका लागि निवेदन दिन सक्छन् । उनीहरूले मिहिन प्रमाण प्रस्तुत गर्नुपर्ने हुन्छ र संक्रमण पुनः उदय हुन रोक्न सक्ने क्षमता पनि देखाउनुपर्छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले स्थापनाको शताब्दी समारोह मनाइरहँदा विश्व स्वास्थ्य संगठनको प्रमाणीकरणलाई चीनको मानवअधिकार अभियानको महान् उपलब्धिका रूपमा चित्रण गरेको छ ।