उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले देशमा कोभिड रोकथामका लागि कठोर नियम कार्यान्वयन नगराएका विभिन्न वरिष्ठ अधिकारीहरूलाई बर्खास्त गरेका छन् ।
अधिकारीहरूले कर्तव्य पालन नगर्दाको परिणाम गम्भीर हुने किमको भनाइ छ ।
कतिजना अधिकारीलाई बर्खास्त गरिएको हो भन्ने स्पष्ट भएको छैन । तर कोरोना ठूलो संकटका रूपमा आएको किमको भनाइ छ ।
वर्कर्स पार्टीका वरिष्ठ अधिकारीहरूलाई हटाइएको त्यहाँको सरकारी समाचार संस्था केसीएनएले संकेत दिएको छ ।
उत्तर कोरियामा कोभिड फैलिएमा गम्भीर परिणाम देखिनेछ । देशको कमजोर स्वास्थ्य सेवा संरचनाले कोरोना संक्रमितहरू ठूलो संख्यामा भर्ना भएमा उपचार गर्न सक्ने छैन ।
त्यसो त उक्त देशले सार्वजनिक रूपमा कोरोनाको केस देखिएको स्वीकार गरेको छैन । तर प्योङयाङले स्वास्थ्य जाँच गर्नका लागि देखाएको कमजोरीका कारण केस नदेखिएको हुन सक्ने विज्ञहरू बताउँछन् ।
लगभग साढे दुई करोड जनसंख्या भएको मुलुकमा कोरोना फैलिएको छैन होला भनी कसैले पनि पत्याइरहेको छैन ।
उत्तरले देशमा भाइरस प्रवेश नगरोस् भनी सन् २०२० को जनवरी महिनादेखि सबै सीमा बन्द गरेको छ । जनतालाई खाद्यान्न जुटाउनका लागि चीनमा निर्भर रहेको भए पनि चीनसँगको सीमा उत्तर कोरियाले बन्द गरेको छ ।