
नेपाली कांग्रेसले कोरोना महामारीमा अग्रपंक्तिमा काम गर्नेहरूको कदर गर्दै सम्मान गर्नुपर्ने जनाएको छ ।
कलाकारहरू सांगे थिन्ले लामा, किपा शेर्पा र सुमिना श्रेष्ठ लगायतले अग्रपंक्तिमा कार्यरत स्वास्थ्यकर्मी, सफाइकर्मी, प्रहरी, सञ्चारकर्मी तथा शव व्यवस्थापनमा खटिएकाहरूको सामूहिक चित्र २ हप्ता अगाडि काठमाडौंको एक पर्खालमा निर्माण गरेको थियो ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बिहीवार विज्ञप्तिमार्फत युवा डुजाङ शेर्पाको परिकल्पना र स्थानीय वडा कार्यालयको लिखित अनुमतिमा १ हप्ता लगाएर निर्माण गरिएको चित्रलाई नष्ट गरिनुबाट कला र कलाकारको समेत अपमान भएको बताएका छन् ।
‘अनेकौं समाचारको भीडमा महानगरलाई यो सामान्य लागेको हुनसक्छ । लिखित अनुमति लिएर, अग्रमोर्चामा जुधिरहेकाको सम्मानमा चित्र बनाउँदा बधाइ होइन अपमान गरिनु सभ्य र सुसंस्कृत समाज अनुरूपको व्यवहार किमार्थ हुन सक्दैन,’ उनले विज्ञप्तिमा उल्लेख गरे ।
काठमाडौको अनेक स्थानमा थुप्रिएका फोहोरले होइन त्यो चित्रले शहरको सौन्दर्यमा असर गरेको थियो भन्ने प्रश्न गर्दै प्रवक्ता शर्माले यस्तो आवेगयुक्त र अपमानजनक व्यवहारबाट नकारात्मक सन्देश प्रवाह गरिनु कति न्यायोचित उल्लेख गरेका छन् ।