
बिरामी बोकेर अस्पताल जाँदै गरेको एम्बुलेन्स बाढीपहिरोमा परेको छ । बिरामीको बाटोमै ज्यान गएको छ ।
कास्कीको मादी गाउँपालिकामा बिहीवार बिरामी बोकेको एम्बुलेन्स बाढीपहिरोमा परेको हो ।
मादी गाउँपालिका–९ मुग्रीबेंसीबाट बिरामी लिएर थुम्सीकोटतर्फ जाँदै गरेको ग१झ ४४८ नम्बरको एम्बुलेन्स बाढीपहिरोमा पर्दा ८३ वर्षीया बिरामी गोमा अधिकारीको बाटैमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा एम्बुलेन्स चालक सुवास अधिकारी घाइते भएका छन् । खहरे खोलामा एक्कासि लेदो सहितको बाढी आएर एम्बुलेन्समाथि परेको हो । उनलाई बाढीले करीब सय मिटर तलसम्म पुर्याएको थियो ।
उनले भागेर ज्यान जोगाउन सफल भए । घाइते अधिकारीलाई पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल ल्याइएको छ ।
मुग्रीबेसीबाट पोखरा आउन ३ घण्टा लाग्छ । सो घटना गोमा अधिकारीको घरबाट नजिकै पर्छ । गाडीमा करीब १० मिनेटको समयमा पुगिन्छ ।
बिरामी गोमासहित उनको परिवारका अन्य ३ सदस्य, चालक र सहचालक गरी एम्बुलेन्समा ६ जना सवार थिए ।
गोमाको बाटैमा मृत्युपछि त्यतैबाट शव घरतर्फ लगिएको थियो ।