
प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर सोमवार साँझसम्म फिर्ता गर्न अल्टिमेटम दिएका छन् ।
दुई दिनभित्र हस्ताक्षर फिर्ता नगरिए त्यो पार्टी फुटको घोषणासरह मानिने ओलीको चेतावनी छ ।
शुक्रवार बसेको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता नगरिए पार्टी एकता नहुने चेतावनी दिएका हुन् ।
‘यदि दुईदिन (सोमवार साँझसम्म)भित्र हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न । कांग्रेस नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने छुट एमालेका सदस्यलाई छैन । यो कुरा किमार्थ स्वीकार्न सकिँदैन । त्यसो गर्नु पार्टी फुटको घोषणा गरेसरह हुन्छ,’ बैठकमा ओलीको भनाइ उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने ।
पार्टी एकताका लागि आफू प्रतिबद्ध भए पनि देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता अनिवार्य रहेको ओलीले बताए ।
एमाले केन्द्रीय कमिटीको बैठकले सोमवार साँझसम्म हस्ताक्षर फिर्ता गर्न आग्रह गर्दै त्यो हस्ताक्षरको वैधता नभएको बारे सम्बद्ध पक्षहरूलाई जानकारी गराउने निर्णय गरेको छ ।
बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले असार २१ गते साँझ ५ बजेसम्ममा हस्ताक्षर फिर्ता लिनका लागि आग्रह गरिएको जानकारी दिए ।
‘आफ्नै पार्टीका अध्यक्ष प्रधानमन्त्री रहनु भएको वर्तमान सरकार हटाएर विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भनेर राष्ट्रपतिसमक्ष पुग्नु र केही साथीहरू मुद्दाको पक्ष बनेर सर्वोच्च अदालतसम्म जानु मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली र पार्टी विधान केहीसँग मेल खाने विषय होइन । त्यो हस्ताक्षर सोमवार साँझ ५ बजेसम्म फिर्ता लिएर पार्टी आन्दोलनको एकतामा योगदान गर्नका लागि आह्वान गरेका छौं,’ ज्ञवालीले भने, ‘त्यस्तो अनाधिकृत हस्ताक्षर, बहुदलीय प्रणालीमा दलको निर्णयविपरीत दलका सदस्यले गरेको हस्ताक्षर मान्य नहुने र त्यसको वैधता हुन नसक्ने कुरा सम्बद्ध सबैमा जानकारी गराउने निर्णय गरेको छ ।’
तोकिएको समयमा हस्ताक्षर फिर्ता नगरे के हुन्छ भन्ने प्रश्नमा प्रवक्ता ज्ञवालीले त्यसै बेला निर्णय हुने बताए ।
केन्द्रीय कमिटीको बैठक शनिवार दिउँसो ३ बजे सम्मका लागि स्थगित भएको छ । शुक्रवारको बैठकमा उपाध्यक्ष वामदेव गौतम पनि सहभागी भएका थिए ।
बैठकलाई सम्बोधन गर्दै गौतमले आफूलाई पार्टी एकताको जिम्मा दिइए दुवै पक्षलाई मान्य हुने गरी एकता गर्ने बताएका थिए ।