थापाथली चोकबाट परोपकार प्रसुती गृह तथा नर्भिक अस्पतालतर्फ जाने बाटो हो यो । सयौं बिरामी र तिनका कुरूवाहरू दिनदिनै आवतजात गर्ने सडकको अवस्था यस्तो भएको लामो समय बित्यो ।
घाम लाग्दा धूलो र पानी पर्दा हिलोले हिँडिसाध्ये हुँदैन । को कतिबेला लड्ने हो, कतिबेला सवारी साधन चिप्लिएर दुर्घटना हुने हो अनि पैदल यात्रुलाई कतिबेला कुन सवारीले हिलो छ्यापेर कुद्ने हो पन्नो हुँदैन ।
६२ वर्षीया लक्ष्मी मगराती यहीँको सडक छेउमा मास्क, पञ्चा, चकलेट, बिस्कुट लगायतका खुद्रा सामान बेच्छिन् । धूलो र हिलोले उनी आफू मात्र प्रभावित भएकी छैनन्, गर्भवती र सुत्केरी चिप्लिएर लडेका र लड्नबाट धौ-धौले जोगिएका दृश्य कैयनपटक देखेकी छन् ।
चिप्लिएर लड्न खोजेका थुप्रैलाई साथ दिएर जोगाएको बताउने उनी अस्पतालको अगाडि यस्तो विचल्ली हुँदा समेत राज्यको ध्यान नगएकोमा चिन्तित छिन् । कहिले ढल त कहिले खानेपानीले सडक भत्काएर समयमा मर्मत नगर्दा समस्या भएको उनको बुझाइ छ ।
अर्की स्थानीय व्यापारी संगीता साह पनि यहाँको हिलो र धूलोले आजित छिन् । उनले पसल खरिद गरेको ४ महिना भयो । ४ महिनाको अवधिमा नै धूलो र हिलो देखेर उनलाई वाक्क लागिसकेको छ । पसलमा राखेका सामानहरू पनि धुलाम्मे र हिलाम्मे हुन्छन् । प्रत्येक घण्टा सफा गरिराख्नुपर्ने अवस्था छ ।
पसलमा छिर्नेहरूले जुत्ताचप्पलमा ल्याउने हिलोले उनलाई आजित बनाएको रहेछ ।
थापाथली चोकबाट थोरैभित्र छिरेर केहीबेर उभिनुभयो भने तपाईंलाई त्यहाँ रोकिइराख्न मुस्किल पर्छ । लगाएका कपडाहरू छिनमै बिरूप बन्न पुग्छन् ।
सवारीहरू दुर्घटनाबाट बालबाल बचेका र पैदल यात्रुहरू चिप्लिएर लडेका दृष्यहरू पनि देख्न सकिन्छ । राजधानीको मुटुमा त यो अवस्था छ भने दूरदराजको हालत के होला ?
सडक खनिसकेपछि समयमै मर्मत गर्नेतर्फ राज्यको ध्यान कहिले जाला खै ?
हेर्नुहोस्, रिपोर्ट :