२१ जेठ २०८३, बिहीबार

आवास अनुदानको किस्ता कात्तिक मसान्तसम्म लिइसक्नुपर्ने

असार १८, २०७८
आवास अनुदानको किस्ता कात्तिक मसान्तसम्म लिइसक्नुपर्ने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी पुनर्निर्माण गर्न अनुरोध गरेको छ । 
 
समितिको बैठकले पुनर्निर्माण तथा प्रबलीकरण लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको छ ।

अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फारम भर्नुपर्नेछ । प्राधिकरणले तोकेको मापदण्ड र समयसीमा अनुसार पुनःनिर्माण गर्न लाभग्राही मञ्जुर हुनुपर्नेछ । त्यसलाई सम्बन्धित वडाध्यक्षले सिफारिससमेत गर्नुपर्नेछ ।
 
प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइले जिल्ला सहजीकरण समितिको निर्णयअनुसार सम्झौता गराउने वा बाँकी किस्ता उपलब्ध गराउने छ ।

बैठकले निर्माण भइसकेका निजी आवास निर्धारित मापदण्डबमोजिम सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सिफारिसअनुसार सुधार गर्न सहमत लाभग्राहीलाई अनुदानको बाँकी किस्ता भुक्तानी गर्ने निर्णय पनि गरेको छ । 

यस्ता घरका लागि लाभग्राहीले अनुदानको किस्ता लिइसकेपछि प्राविधिकको सुझावअनुसार स्थानीय तहबाट सुधार गरी निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि स्थानीय तहमा दाबी गर्ने कबुलियतनामा गर्नुपर्नेछ । अनुदान लिएर घरमा आवश्यक सुधार गरी सुरक्षित नबनाएमा प्राधिकरण र स्थानीय तहले तोकेको कारवाही भोग्न लाभग्राही तयार हुनुपर्नेछ ।

कार्यकारी समितिले विविध कारणवश हालसम्म जग्गा खरिद गर्न नसकी पुनःनिर्माण गर्न नसकेका भूमिहीन वा जोखिम बस्तीका लाभग्राहीलाई २०७८ भदौ मसान्तसम्म जग्गा खरिद सम्पन्न गर्न पनि आग्रह गरेको छ । यस्ता लाभग्राहीले पनि कात्तिक मसान्तसम्म अनुदानका तीनै किस्ता लिनेगरी घर निर्माण गर्नुपर्नेछ । 

यसअघि २०७८ असार १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले कात्तिक मसान्तसम्म निजी आवास अनुदान लिने अन्तिम समयसीमा निर्धारण गरेको थियो । बैठकले प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्य प्रणाली उक्त अवधिसम्म निरन्तर रहने पनि निर्णय गरेको थियो ।
 

salt training

कमेन्ट गर्नुहोस्