
पार्टी भित्रको विवाद उत्कर्षमा पुगेको बेला नेकपा एमाले केन्द्रीय कमिटीको बैठक शनिवार पनि बस्दैछ ।
शुक्रवार शुरू केन्द्रीय कमिटीको बैठक शनिवार दिउँसो बस्ने प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
शुक्रवारको बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २३ जनालाई आगामी सोमवार साँझ ५ बजेसम्म फिर्ता गर्न निर्देशन दिएको थियो ।
शनिवारको बैठकअघि दुवै पक्षका दोस्रो तहका नेताहरू छलफलमा जुटेका छन् । ललितपुरस्थित एक होटलमा संस्थापन पक्ष र माधव नेपाल पक्षका नेताहरूबीच छलफल चलिरहेको छ । छलफलमा उपमहासचिव एवं अर्थमन्त्री विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल सहभागी छन् ।
नेपाल पक्षबाट घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र भीम आचार्य लगायत सहभागी छन् । दोस्रो तहका नेताहरूले सहमतिका लागि एउटा खाकामा छलफल गरेका छन् ।
छलफल चलिरहेको समयमा नेता भुसाल माधव नेपाललाई भेट्न कोटेश्वर पुगेका थिए । शनिवारको बैठकअघि प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीच टेलिफोनमा कुराकानी भएको स्रोतले बतायो । टेलिफोन संवादका लागि भुसालले सहजीकरण गरेका थिए ।
बिहीवार साँझ पनि ओली र नेपालबीच कुराकानी भएको ओलीले शुक्रवारको बैठकमा बताएका थिए । सोमवारसम्म हस्ताक्षर फिर्ता गर्नुपर्ने शर्त नेता नेपालले अस्वीकार गरेका छन् ।
शनिवारको बैठकले महाधिवेशनबारे निर्णय लिने सम्भावना रहेको एक नेताले जानकारी दिए ।