
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै उत्पादनबाट घरेलु विद्युत्को माग धान्ने अवस्था ल्याउन सरकार अघि बढिरहेको बताएका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारबाट नुवाकोटमा निर्मित समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन तथा सव स्टेशनको शनिबार भर्चुअल उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकारले उत्पादन वृद्धिमार्फत आयात प्रतिस्थापन, उत्पादित विद्युतको प्रसारण र त्यसको खपतलाई सन्तुलनकारी ढंगले अघि बढाएको समेत बताए ।
‘पहिले तालमेल नमिलेर आयोजना तयार भइसक्दा प्रसारण लाइन नहुने लाइन तयार हुँदा वितरण गर्ने ठाउँमा सव लाइनहरु नहुनेजस्ता कमजोरी थिए । अब हामीले त्यस्तो नहोस् भन्नेमा ध्यान दिएका छौं’, प्रधानमन्त्रीको भनाइ थियो ।
नेपालले करिब एक सय १० वर्षअघि उर्जा उत्पादन सुरु गर्दै दक्षिण एसियामै दोस्रो जलविद्युत उत्पादक देश बने पनि यस अन्तरालमा गर्नुपर्ने विकास भने नगन्य रहेको पनि प्रधानमन्त्री ओलीले उल्लेख गरे । पछिल्लो समय कुलेखानी जलविद्युत आयोजनाले देखाएको बाटो अनुरुप हालका वर्षहरुमा जलाशययुक्त आयोजनाको निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको उनको भनाइ थियो ।
समुन्द्रटार त्रिशुली बी हब १३२ केभी प्रसारण लाइन दुप्चेश्वर गाउँपालिकामा रहेको समुन्द्रटार सवस्टेशन देखी किस्पाङ गाँउपालीकामा रहेको त्रिशुली ३ बी हब सवस्टेशन कुल ८४ वटा टावर खडा गरी स्थापना गरिएको छ ।
कुल २६ कि.मि. लामो १३२ के.भी. डबल सर्किटको यो प्रसारण लाइनबाट समुन्द्रटार सवस्टेशनलाई काठमाण्डौं उपत्यकाको मातातीर्थ सवस्टेशनमा मात्र नभई अन्य सवस्टेशनसंग समेत जोड्ने योजना रहेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले बताए ।
उनका अनुसार प्रसारण लाइनबाट रसुवा र नुवाकोटमा उत्पादन भई त्रिशुली ३ बी हब सवस्टेशनमा प्राप्त हुने ६ सय मेगावाट. भन्दा बढी विद्युतलाई सिधै काठमाण्डौं ल्याउन ठूलो मद्दत पुग्ने छ ।