
नेकपा एमालेले पार्टी महाविधेशनका लागि असार मसान्तसम्म पार्टी सदस्यता नवीकरण गर्ने प्रस्ताव गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको पार्टी केन्द्रीय कमिटी १३औं बैठकमा पार्टी महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन पेश गर्दै असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण र साउन ५ गते नवीकरण गरिएको विवरण केन्द्रमा पठाउने प्रस्ताव गरेका छन् ।
उनले पार्टी विधानअनुसार आगामी वैशाखभित्र पार्टीको १०औं महाधिवेशन गर्नुपर्ने अनिवार्य व्यवस्था भएअनुसार असारभित्रमा पार्टी सदस्यता नवीकरण गनुपर्ने प्रस्ताव पेश गरे । साउन २५ गतेभित्र विधान महाधिवेशन गर्ने प्रस्ताव समेत पेश भएको छ ।
विधान महाविधेशनका लागि असार २५ गतेभित्र प्रदेश, जिल्ला, स्थानीय तहमा विधान संशोधनका लागि पठाइसक्ने प्रतिवेदनमा उल्लेख गरेका छन् ।
बैठकमा महासचिव पोखरेलले भदौ ५ गते वडा अधिवेशन र भदौ १५ गते स्थानीय तहको अधिवेशन गर्न प्रस्ताव पेश गरे । पार्टीका ३२ विभागलाई चाँडै नै पूर्णता दिन निर्देशन दिइएको छ ।
महासचिव पोखरेलले सांगठानिक प्रतिवेदन प्रस्तुत गर्दै सर्वोच्च अदालतले पार्टी पहिल्यैकै अवस्थामा पुर्याएपछि आयोजक कमिटीका ४ वटा बैठक अन्तरपार्टी निर्देशनअनुसार भएको जानकारी दिए ।
यसबीचमा १० वटा स्थायी कमिटी बैठक भएको थियो । महासचिवको प्रस्तावमाथि केन्द्रीय सदस्यले बोल्ने क्रम जारी छ । बैठक शुक्रवारदेखि जारी छ ।