
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसँग एमाले संस्थापन पक्षका नेताहरूले भेटेर कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षका गरिएका हस्ताक्षर फिर्ता लिन आग्रह गरेका छन् ।
अर्थमन्त्री समेत रहेका एमालेका उपमहासचिव विष्णु पौडेलसहित संस्थापन पक्षका तीन नेताले आइतवार बिहान नेता नेपालसँग भेटवार्ता गरेका हुन् ।
पार्टी विवाद मिलाउने प्रयास स्वरूप पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य शंकर पोखरेल नेता नेपालको निवास कोटेश्वर पुगेका थिए ।
उनीहरूले झण्डै एकघण्टा भेटवार्ता गरेका थिए ।
दुई नेता(ओली–नेपाल)लाई भेटेर सहमति गर्न आफूहरूले आग्रह गरेको नेता सुवास नेम्वाङले लोकान्तर डट्कमलाई जानकारी दिए ।
‘तपाईंहरूको मागबमोजिम जेठ २ गतेको अवस्थामा फर्केर पार्टी क्रियाशील भइसकेको अवस्थामा तपाईंहरू भेटेर सल्लाह गर्नुस् । एमाले एकताबद्ध छ भन्ने सन्देश दिऔं’ नेपालसँगको कुराकानीबारे नेम्वाङले लोकान्तरसँग भने ।
जवाफमा नेता नेपालले साथीहरूसँग छलफल गरेर जवाफ दिने बताएका थिए । ‘तपाईंहरूको कुरा सकारात्मक रूपले लिएको छु, साथीहरू (तपाईँहरूसँग वार्तामा रहेका)सँग कुरा गरेर जवाफ दिन्छु,’ नेपालको जवाफबारे नेम्वाङले लोकान्तरसँग भने ।
देउवाको पक्षमा गरिएका हस्ताक्षर फिर्ता गरेर पार्टी एकताको सन्देश दिन नेपालसँग संस्थापन पक्षका नेताहरुले आग्रह गरेका थिए ।
तर नेपालले भने पूर्ववत् अडानमा कायम रहँदै हस्ताक्षर फिर्ता नगर्ने बताएका थिए । ‘प्याकेजमा सहमति नभई हस्ताक्षर फिर्ता गर्न सकिँदैन,’ नेपालको भनाइबारे स्रोतले भन्यो ।
एमाले केन्द्रीय कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ताका लागि दिएको अल्टिमेटम सोमवार सकिँदैछ ।
पार्टी विवाद समाधानको प्रयास स्वरूप एमालेका दोस्रो तहका नेताहरूबीच शनिवार दिनभर कुराकानी भएको थियो ।
त्यसक्रममा उपमहासचिव घनश्याम भुसालको पहलमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र माधव नेपालबीच टेलिफोन कुराकानी भएको थियो ।
शनिवारको केन्द्रीय कमिटी बैठकमा ओलीले सर्वोच्च अदालतको फैसला आउनुअघि नै हस्ताक्षर फिर्ता नलिए हस्ताक्षर गर्नेहरू पार्टी सदस्य नरहने बताएका थिए ।
एमाले विवाद उत्कर्षमा पुगेको समयमा उपमहासचिव पौडेल लगायतले नेताहरूसँगको भेटवार्तालाई तीव्र बनाएका छन् ।