२८ जेठ २०८३, बिहीबार

पर्वतका एक पुरुष ६ दिनदेखि बेपत्ता

असार २०, २०७८
पर्वतका एक पुरुष ६ दिनदेखि बेपत्ता

पर्वतको कुश्मा नगरपालिका–१४ आर्थर डाँडाखर्कका एक पुरुष विगत छ दिनदेखि सम्पर्कविहीन भएका छन् ।

स्थानीयवासी ६७ वर्षीय बालकृष्ण विक गत असार १५ गतेदेखि सम्पर्कविहीन भएका हुन् । पति–पत्नी मात्रै बस्दै आएका उनीहरूबीच असार १४ गते सामान्य घर झगडा भएको थियो ।

भोलिपल्ट १५ गते रोपाइँ गर्नका लागि बालकृष्णले खेताला पनि खोजेका थिए । बिहान करिब ८ बजेतिर घरबाट निस्किएका उनी अहिलेसम्म पनि कसैको सम्पर्कमा नआएको स्थानीयवासी शिक्षक सुरेन्द्र शर्मा गौतमले जानकारी दिए।

“उहाँ मिजासिलो र खुशी देखिने मान्छे १५ गते बिहान घरबाट निस्कनुभएको रहेछ । झगडाको रिस मरेपछि घर फर्किनुहोला नि भनेको अहिलेसम्म पनि आउनुभएको छैन”, शिक्षक गौतमले भने, “छोरा विदेशमा र बुहारी पोखरामा छन् । घरमा रहेकी उनकी श्रीमतीलाई समस्या भएको छ ।”

कसैले कुश्मा नगरपालिकाको दोबिल्लास्थित सन्तोषचोकमा देखेको बताएको भए पनि उनी कता गए भन्ने खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक शिवराज बुढाथोकीले बालकृष्ण बेपत्ता रहेको र खोजी गरिदिन भनी परिवारको तर्फबाट निवेदन आएलगत्तै खोजी भइरहेको भए पनि उनको अवस्थाबारे पत्ता लाग्न नसकेको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्