
बागमती प्रदेश सभाको बैठक आज दिउँसो ३ बजे बस्दै छ । बैठक ११ बजे बस्ने भनिए पनि बजेट विनियोजित शीर्षकमा छलफलका लागि सत्तारुढ दल र प्रतिपक्षका बीच सहमति कायम गर्ने उद्देश्यले बैठक सारिएको हो ।
शनिबार बसेको प्रदेश सभाको बैठकमा विनियोजित बजेटको क्रमागत मन्त्रालयको विषय वस्तुसँग छलफल गर्ने क्रममा प्रमुख प्रतिपक्ष र प्रतिपक्षले बजेट तथा योजना बाँडफाँटमा पक्षपात र सम्मानजनक व्यवहार नगरेको आरोप लगाउँदै बैठक सञ्चालनमा अवरोध गरेका थिए ।
सोही बैठकमा प्रतिपक्ष दलले प्रदेश सरकारले प्रदेशको सिन्धुपाल्चोक, सिन्धुली, चितवनका बाढीपहिरो पीडितलाई राहत उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालयमा अनुदान रकम पठाइएको र सो रकमले ती पीडित परिवारलाई तत्काल उद्धार राहत सामग्री वितरण नगरिएको आरोप लगाएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा पठाइएको उक्त राहतको रकम सीधै स्थानीय तहलाई पठाउनुपर्ने माग गर्दै सरकारले ल्याएको बजेटमा भीमफेदी कुलेखानी सुरुङमार्गको निर्माण, विद्युतीय बस खरिद गर्ने प्रक्रिया रद्द गरिनुपर्ने प्रदेशसभा सदस्यले धारणा राखेका थिए ।
त्यस्तैगरी सरकारको स्वामित्वमा रहने गरी प्रदेशमा आमसञ्चार गृह सञ्चालन गर्दा जनहित र संवैधानिक प्रक्रियामा आँच पुग्ने हुँदा सो प्रस्ताव फिर्ता लिनुपर्ने उनीहरूले माग गरेका छन्।
प्रदेशसभाको बैठक आज सञ्चालन भएमा शनिबार स्थगित गरिएको मन्त्रालयगत रुपमा सामाजिक विकास मन्त्रालय र उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयसम्बन्धी विषयमा छलफल प्रारम्भ हुने प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए ।